एनसेलले ४ अर्व ५० करोड बुझायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एनसेलले ४ अर्व ५० करोड बुझायो


१५ पुस २०७६, मंगलबार


काठमाडौं । एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

सम्बधित समाचार : १५ दिनभित्र सबै कर चुक्त्ता गरिसक्न एनसेललाई ठूला करदाता कार्यालयको पत्र

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज ४ अर्व ५० करोड रूपैयाँ बुझाएको हो। ‘बाँकी रकम एनसेलले किस्ताबन्दीमा यसै आर्थिक वर्षभित्र बुझाउने जनाएको छ,’ ठूला करदाता कार्यालयका प्रमुख अधिकारीले भने।

आयकर ऐनले निर्धारण भएको कर किस्ताबन्दीमा तिर्न सक्ने सुविधा दिएको छ।

अधिकारीका अनुसार यस्तो सुविधा एनसेलले २०७७ साल असार मसान्तसम्म मात्र पाउने छ। गत माघमा सर्वोच्च अदालतले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभ कर एनसेलले नै तिर्नुपर्ने फैसला गरेको थियो।

वैशाखमा ठूला करदाता कार्यालयले एनसेललाई कुल ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर निर्धारण गर्‍यो। एनसेलले केही रकम पहिल्यै तिरिसकेको थियो। त्यसबाट घटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको थियो।

ठूला करदाता कार्यालयले निर्धारण गरेको जति कर आफूले तिर्नु नपर्ने भन्दै एनसेल फेरि सर्वोच्च गयो। आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको जिकिर थियो।

उक्त जरिवाना शुल्क १७ अर्ब ९५ करोड ६७ लाख १३ हजार रुपैयाँ हुन आउने फैसलाको पूर्णपाठमा उल्लेख थियो। बाँकी २१ अर्ब १० करोड ३९ लाख ७१ हजार रुपैयाँ एनसेलले तिर्नुपर्ने पनि फैसलामा भनिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस