अलमल गरेर र फाइल घुमाएर नबस्न मन्त्री नेम्वाङको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अलमल गरेर र फाइल घुमाएर नबस्न मन्त्री नेम्वाङको निर्देशन


१४ पुस २०७६, सोमबार


भक्तपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सडकखण्डको आज अनुगमन गर्दै उनले अलमल गरेर र फाइल घुमाएर नबस्न निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्शनलाई निर्देशन दिए।

मन्त्री नेम्वाङले स्थानीयवासीको अवरोध नभई पूर्णरुपमा सहयोग हुँदाहुँदै व्यवसायीले काम रोक्नु विडम्बना भएको उल्लेख गर्दै आगामी ४ महिनाभित्र सडक निर्माण पूर्णरुपमा सम्पन्न हुनुपर्छ भने ।

मन्त्री नेम्वाङले भने, ‘अब हिजोको जस्तो अवस्था छैन, नयाँ परिस्थितिमा नयाँ ढङ्गले गति लिनुपर्छ, विगतमा जस्तो ढिलाइ गर्ने निर्माण व्यवसायीको चालचलन पनि अब परिवर्तन हुनुपर्छ ।’

उनले भक्तपुर काठमाडौँको ट्राफिक जाम व्यवस्थापन गर्ने, कोटेश्वरमा सुरुङमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्ते करिडोर बनाएर जाम हटाउन, खाल्डाखुल्डी टाल्ने र साना आयोजना मात्रै नभई विकासका ठूला योजनाहरु शुरु गरेको जानकारी दिए ।

पूर्वउद्योगमन्त्री महेश बस्नेतले नगरकोट सडकको खरिपाटीसम्म बेस हालेर कालोपत्रको तयारी भएको जानकारी दिँदै चालु आवभित्रै सबै काम सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागले पहल गर्नुपर्छ भने ।

उनले भक्तपुरको सूृर्यविनायक क्षेत्रमा तीनवटा पुलको निर्माण गर्न, हनुमन्ते करिडोर छिटो सम्पन्न गर्न, बेलिब्रिज निर्माण, मनोहरा करिडोर निर्माण, वीर अस्पताल, सानोठिमी सडक विस्तार गर्ने कार्यलाई पूर्णता दिन माग गरे । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोट सडक निर्माणसम्पन्न गर्न पटक पटक सरोकारवाला निकायदेखि नेकपा अध्यक्ष्य प्रचण्डसम्म पुग्दा पनि आयोजनाले ढिलाइ गरेको बताए ।

अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका प्रमुख केशव शर्मा, सडक विभागका उपनिर्देशक राजेन्द्र ढकाल र सुशील शर्मा, प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सञ्चारकर्मीसहितको सहभागीता रहेको थियो

Tags :
प्रतिक्रिया दिनुहोस