कर्मचारी अभावले सर्वसाधारणलाई सेवा दिन समस्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारी अभावले सर्वसाधारणलाई सेवा दिन समस्या


१३ पुस २०७६, आइतबार


हेटौँडा । ६० हजार विद्युत् सेवा लिने ग्राहक रहेको विद्युत् वितरण केन्द्र हेटौँडा शाखामा कर्मचारी अभावले सर्वसाधारणलाई सेवा दिन समस्या भएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार कर्मचारी र प्रविधिकसहित १४५ दरबन्दी रहेकोमा हाल १०५ कर्मचारी कार्यरत छन् । मासिक रु १७ करोड विद्युत् महसुल उठ्ने सो कार्यालयबाट प्राविधिक र अन्य सेवा दिन कर्मचारी अभाव भएको कार्यालय प्रमुख योगेन्द्र ठाकुरले बताए ।

कर्मचारी अभावका कारण विद्युत् मिटर वितरण, तार र पोल जडान, मर्मत सम्भार तथा ग्रामीण विद्युतीकरणलगायतको समस्या रहेको बताइएको छ । खासगरी मकवानपुरको उत्तरी क्षेत्रमा पोल तथा तार जल्दा वा टान्सफर्मर बिग्रदा समस्या आउने गरेको गढीका राममोहन अधिकारीले भने।

इ विलिङमार्फत विद्युत् राजश्व लिने र महशुल काउन्टरको सङ्ख्या बढाइएकाले सेवाग्राहीलाई समस्या नभएको ठाकुरको भनाइ थियो । चुस्त दुरुस्त सेवा दिन आफू आएदेखि लागिपरिरहेको तर कर्मचारी अभावले काम गर्न केही असहज भएको उनको गुनासो छ ।

यसैबीच शिवम् सिमेन्ट उद्योग तथा हेटौंँडा सिमेन्टलगायत विभिन्न उद्योगले प्राधिकरणलाई बुझाउनुपर्ने महसुल रकम उठाउने प्रक्रिया अगाडि बढाइरहेको त्यहाँको प्रशासन शाखाबाट थाहा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस