दरबन्दी मिलानका क्रममा पठनपाठनमा कठिनाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दरबन्दी मिलानका क्रममा पठनपाठनमा कठिनाइ


५ पुस २०७६, शनिबार


पाल्पा । प्राथमिक तहका शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका निमावि र मावि दरबन्दी अभाव हुने अवस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रावि तहका शिक्षकका भरमा मावि र निमावि कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थी शिक्षक औषतका आधारमा पाल्पाका प्रावि तहका ४४० शिक्षक जिल्ला बाहिरिने छन् । प्राविमा शिक्षक दरबन्दी बढी रहेको भनेर अन्यत्र शिक्षक पठाउँदा निमावि र माविमा शिक्षण कार्य प्रभावित हुने शिक्षकको दाबी छ ।

सामुदायिक विद्यालय शौक्षिक सञ्जाल, पाल्पाद्वारा आयोजित राष्ट्रिय शिक्षा नीति र शिक्षक दरबन्दी मिलानसम्बन्धी अन्तरक्रियामा प्रदेश नम्बर ५ का सांसद पुरनमान बज्रचार्य र वीरबहादुर रानाले सामुदायिक विद्यालयका हितमा शिक्षक दबरन्दी हुनुपर्ने बताए ।

शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गति अन्त्यका लागि सामुदायिक विद्यालयका शिक्षक लाग्नुपर्ने देखिएको छ । शिक्षा तालीम केन्द्र पाल्पाका प्रशिक्षक गोपालप्रसाद बस्यालले शिक्षा नीतिले निजी विद्यालयलाई सुरक्षा प्रदान गरेको गुनासो गरे । उनले न्यून विद्यार्थी रहेका सामुदायिक विद्यालयमा शिक्षक नरहने अवस्था बढेको बताउँदै कक्षा ५ सम्म सञ्चालित विद्यालयमा दुई शिक्षक रहने व्यवस्थाले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षण हुन नसकेको बताए ।

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्यापक डा शङ्कर गैरेले पहिला शिक्षक नियुक्ति र त्यसपछि शिक्षक दरबन्दी व्यवस्थापन हुन आफैँमा गलत भएको टिप्पणी गरे । शिक्षाप्रेमी मीनप्रसाद ढकालले सामुदायिक विद्यालयले विद्यार्थी आकर्षणका लागि अङ्ग्रेजी माध्यमबाट पठनपाठन प्रभावकारी हुन नसकेको बताए ।

सामुदायिक विद्यालय शौक्षिक सञ्जाल, पाल्पाका अध्यक्ष कृष्णबहादुर थापाले निमावि र मावि तहको शिक्षक व्यवस्थापनपछि मात्र प्रावि तहका शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने बताए । कार्यक्रममा राजनीतिक दलका प्रमुख, शिक्षक तथा जिल्लाका सरोकारवाला निकाय शिक्षक दरबन्दीको निहुँमा सामुदायिक विद्यालय कमजोर बनाउन नपाइने तर्क थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस