डोटी । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटी जिल्लामा रहि सेवा प्रवाह गरिरहेका तर समन्वय नगरी काम गरिरहेका सरकारी कार्यालयको प्रगति देखाउन नसकिने बताएका छन् ।
प्रशासन डट कम सँग कुराकानी गर्दै प्रजिअ पौडेलले जिल्ला सदरमुकाम सिलगढीमा रहेका कार्यालय होस वा दिपायलमा रहेका प्रदेश, संघ मातहतका जुनसुकै डिभिजन, ज्ञान केन्द्र प्रादेशिक निर्देशनालय भएपनि विकास निमार्ण तथा जिल्लाको सार्वजनिक चासोको बिषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्थानिय तह गाउँपालिका, नगरपालिका संग समन्वय नगरी काम गरिरहेको अवस्थामा त्यस्ता कार्यालयले गरेको कामको प्रगति देखाउन नसकिने बताए ।
उनले भने ‘केही कार्यालयहरु कुनै निकाएसंग समन्वय नगरी आफ्नो मनपरी तरिकाले, कुनै निकाएलाई जानकारी बिना काम गरिरहेको भन्ने गुनासो आएको कारण सबै निकायसँग समन्वय गरेर काम गर्न जानकारी गराएको छु । यदी कुनै कार्यालले समन्वय नगरी काम गर्छन् भनेपछि आउने परिणाममा हामी जिम्मेबार हुदैनौ ।’
सेवा प्रवाहमा लापरबाही गर्ने,कुनै निकायसंग समन्वय सहकार्य नगर्ने, कार्यालय प्रमुख सम्पर्कमा आउनै नचाहाने, कार्यालय प्रमुख कता छ भन्ने थाहै नहुने कार्यालयको रुपमा यो भन्दा पहिले शिक्षा विकास तथा समन्वय इकाई डोटी र नेपाल बिधुत प्राधीकरण दिपायलका प्रमुखको बिषयमा सम्बन्धीत कार्यालयको मातहतका माथिल्लो निकाए, गृह मन्त्रालयलाई पत्र लेखी पठाएको समेत प्रजिअ पौडेलले बताए ।
जिल्ला सभा डोटीले डोटी जिल्लामा सबैभन्दा कम समन्वयर सम्पर्क गर्ने कार्यालयको सुचिमा शिक्षा विकास तथा समन्वय इकाई डोटी र सडक डिभीजन कार्यालय डोटीलाई राखेको थियो ।







