अधिकृत कुटपिट गर्ने वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अधिकृत कुटपिट गर्ने वडाध्यक्ष पक्राउ


३ पुस २०७६, बिहिबार


रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष विक नेतृत्वको युवाहरूले बुधवार राती गरेको आक्रमणबाट केसीको गर्दा टाउकोमा ५ वटा टाका लगाइएको छ ।

कार्यालयको काम सकेर आफ्नो निवासतर्फ जाँदै गर्दा नगरपालिका ९ को राडी बजार नजिकै प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण भएको थियो ।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृत कुटिए, नगरपालिकाको सम्पूर्ण काम ठप्प

घटनाको विषयलाई लिएर नगर उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै तत्काल दोषीलाई कारबाहीको माग गरेकी छिन् । दुई/तीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

यता कर्मचारीहरूले पनि एक विज्ञप्ति प्रकाशन गर्दै अध्यक्ष र उनका भाइ गोपाल र हरिश विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण गरेको भन्दै कडा कारबाहीको माग गरेका छन् ।

दोषीमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने विज्ञप्तिमार्फत चेतावनी समेत दिइएको छ।

वडाध्यक्ष केशरमानको डोजरले काम गरेको पैसा भुक्तानी नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत केसीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस