प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृत कुटिए, नगरपालिकाको सम्पूर्ण काम ठप्प « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृत कुटिए, नगरपालिकाको सम्पूर्ण काम ठप्प


३ पुस २०७६, बिहिबार


काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका दुई जना अधिकृत कुटिएका छन् ।

बुधबार साँझ कार्यालयको काम सकेर फर्कने क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा आठबीसकोट नगरपालिका वडानम्बर–३ का अध्यक्ष केशरमान विक पक्राउ परेका छन् ।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागी पाँच टाका लगाइएको बताइएको छ । सूचना अधिकृत चन्दलाई भने सामान्य चोट लागेको छ ।

अधिकृत केसीले वडाअध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा किटानी जाहेरी दिएपछि प्रहरीले वडाध्यक्षलाई पक्राउ गरको हो ।

कुटपिटमा संलग्न अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उक्त घटनाप्रति नगरपालिकाका कर्मचारीहरुले आपत्ति जनाउँदै निमित्त प्रशासकीय र आइटी अधिकृत कुटपिटमा संलग्नमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि सम्पूर्ण काम ठप्प पार्ने घोषणा गरेका छन् ।

आठबीसकोट नगरपालिका कर्मचारी परिवारले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नि. प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृतजस्तो जिम्मेवार कर्मचारीमाथि गरेको आक्रमणको विरुद्धमा निजहरूलाई कानूनबमोजिम कारबाही नभएसम्मका लागि कर्मचारीको तर्फबाट नगरपालिकामा सम्पादन हुने सम्पूर्ण कामहरू ठप्प हुने भएकाले सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।’

विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस