बालबालिका विरुद्ध हुने अपराध र यसको रोकथाम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालबालिका विरुद्ध हुने अपराध र यसको रोकथाम


२७ मंसिर २०७६, शुक्रबार


बालबालिका विरुद्ध भएका विभिन्न प्रकारका हिंसाका घटनाहरू र त्यसबाट बालबालिकाहरू र समाज दिनानुदिन पीडित भइरहेको कुरा दैनिक रूपमा प्रकाशित हुने समाचार, सुनिने घटनाहरू र मुद्दाहरूबाट स्पष्ट भएको छ । नेपालको सन्दर्भमा बालबालिका प्रति लक्षित गरी हुने अपराध र दुर्व्यवहारमा हत्या, भ्रूण हत्या, बाल हत्या, जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार, यातना, अपहरण, सामाजिक विभेद, मानव बेचबिखन, बालविवाह आदि पर्दछन् । यसको अतिरिक्त आधुनिक प्रविधिको विकास सँगसँगै इन्टरनेट, सोसल मिडियाको माध्यमबाट बालबालिकाहरू धेरै किसिमले हिंसा र अपराध पीडित भइरहेको देखिन्छ । बालबालिका अरू भन्दा संवेदनशील र उनीहरूप्रति हुने अपराध तथा दुर्व्यवहार सोहीअनुसार संवेदनशील भएर सम्बोधन गर्नुपर्ने भएकोले राज्यले यस विषयमा गम्भीर हुन जरुरी छ । तर त्यस्ता अपराध र दुर्व्यवहार रोक्न राज्यले प्रभावकारी व्यवस्था गर्न सकिरहेको छैन। बालबालिकामाथि यौन दुराचार गर्ने दुराचारीहरू खुलेआम हिँडिरहेका छन् राज्य मूकदर्शक बनेर हेरिरहेको छ । यसरी बालबालिका विरुद्ध हुने अपराध रोकथामका लागि राज्यले कुनै प्रभावकारी उपाय अपनाई अपराधीलाई न्यायको कठघरामा नल्याएसम्म जनतालाई राज्य भएको आभास हुने छैन।

बाल्यकाल मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील अवधि हो भनेर निःसन्देह भन्न सकिन्छ किनभने वयस्कहरूको दृष्टिमा सामान्य लाग्ने कुराहरूले बालबालिकालाई चीरकालीन मानसिक द्वन्द्व र अनर्तनादको सिकार बनाई रहने हुन्छन् । बालबालिका जस्तो संवेदनशील वर्गमा शारीरिक, मानसिक, नैतिक र सामाजिक रूपमा नै नकारात्मक प्रभाव पार्ने क्रियाकलापहरू मध्ये यौन दुर्व्यवहार पनि एक हो भन्ने कुरालाई नकार्न सकिँदैन । नेपाली समाजमा बालबालिकामाथि यौन शोषण तथा दुर्व्यवहारका घटनाहरू हुने गरेको भए तापनि ती घटनाहरू त्यति सारो प्रकाशमा आउने गरेका छैनन् । यौन दुर्व्यवहारअन्तर्गत नै पर्ने जबरजस्ती करणीको अपराध पीडितले नै लुकाउने गर्छन् भन्ने सम्बन्धमा संयुक्त राष्ट्रसङ्घद्वारा प्रकाशित एक प्रतिवेदनमा धेरै जसो बालबालिका घरमा हुने यौन दुर्व्यवहारबारे बताउँदैनन् भनिएको छ । यसो नगर्नुको कारण उनीहरूका परिवारले उनीहरूलाई इन्कार गर्ने, उनीहरूको विश्वास नगर्ने डरले हो । यसका साथै कुनै समुदायमा रहेका कुरीतिका कारण पनि धेरै केटाकेटीहरूले यौन दुर्व्यवहारको कुरा नबताउने जसमा केटाहरूले सो गरेमा आफूलाई कमजोर र मर्द नभन्ने डरले भने केटीहरूले आरोपित हुने अथवा उनीहरूको विश्वास नगरिने डरले बताउँदैनन् भनी भनिएको छ ।

नेपालमा सहरी बसाइसराइबाट प्रभावित बालबालिका तथा युवायुवती सामाजिक संरक्षणको अभावमा विभिन्न प्रकारको दुर्व्यवहार र शोषणमा परेको स्थिति छ । नेपालको सहरी क्षेत्रमा बालबालिकाको यौन शोषणका घटनाहरू बढ्दै गइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक प्रतिवेदन अनुसार नेपालको सहरी क्षेत्रमा १६ वर्ष मुनिका ५,००० भन्दा बढी बालिकाहरू यौन पेसामा संलग्न रहेको अनुमान छ ।त्यसैसरि नेपाल प्रहरीका अनुसार सहरी क्षेत्रमा बालबालिकालाई खास गरी सङ्गठित, सामाजिक र आर्थिक अपराधमा संलग्न गिरोहले आर्थिक प्रलोभन देखाएर दुरुपयोग गर्दै आएको छ । उपत्यकामा पकेटमारी, चोरी, डकैती, लगायतका अपराधमा पनि बालबालिका प्रयोग हुने गरेका छन् ।

बालबालिकाहरू अरू ठुला व्यक्तिहरू जस्तै हत्या तथा बलात्कारको सिकार हुनुका साथै अतिरिक्त बालबालिकाहरूलाई फिरौती तथा अभिभावकसँगको रिस साध्नको लागि बालबालिकाहरूको हत्या तथा अपहरणका घटनाहरू हुने गरेको पाइन्छ । अझ पछिल्लो समयमा बालबालिकालाई पापा किनिदिउँला, चकलेट किनिदिन्छु भन्दै होमवर्क सिकाई दिन्छु भनी आश्वासन दिई वा डर धम्की देखाई जबरजस्ती करणी गर्ने र हत्या गर्ने गरेको देखिन्छ । तराईमा यौन प्रस्ताव अस्वीकार गरे एसिड आक्रमण गर्ने गरेको समाचार पनि बेलाबेला सुन्न पाइन्छ । निर्मला पन्तको हत्या प्रकरण, दास दिदी बहिनी माथिको एसिड आक्रमण यसका ज्वलन्त उदाहरण हुन ।

यौन पर्यटन नेपालजस्तो विकासोन्मुख मुलुकको लागि चुनौतीको रूपमा देखिएको छ। काठमाण्डौं, पोखरा लगायतका सहरमा पर्यटकहरूले बालबालिका माथि यौन शोषण गरेको समाचार बेलाबेलामा सुन्नमा आउँछ । होटेलमा काम गर्ने वाल मजदुरको रूपमा काम गर्ने बालबालिकामाथि मालिक आफैले र पर्यटकहरूले शोषण गर्ने गर्दछन् । बालबालिकाहरूलाई शिक्षादीक्षा दिने उद्देश्यले राखेर शोषण गरेको समाचार पनि हाम्रा अगाडि ताजै छ । पर्यटनको रूपमा विकासोन्मुख मुलुहरुको भ्रमण गरी त्यहाँको आर्थिक अवस्था, अज्ञानता वा कानुनी कमजोरीको फाइदा उठाउँदै बालबालिका माथि शोषण र दुर्व्यवहार गर्ने उद्देश्यले पनि विदेशीहरू भित्रिएका हुन्छन् । हाम्रो अर्थव्यवस्था पर्यटनमा आधारित रहेको हुँदा यौन पर्यटनबाट हुने नकारात्मकताबाट हाम्रा बालबालिका जोगाउने कार्य हाम्रा लागि चुनौतीपूर्ण छ ।

बेचबिखन तथा ओसारपसारको अपराधबाट प्राय महिलाहरू पीडित हुँदै आएको भएता पनि बालबालिकाहरू झन् पीडित भइरहेका छन्। साना उमेरका बालबालिकाहरू वेश्यावृत्ति वा देहव्यापार, यौन तथा श्रम शोषणका अतिरिक्त सर्कसको काममा लगाउने र कतिपय अवस्थामा शरीरको अङ्ग झिकी अरूहरूमा प्रत्यारोपण गर्नका लागि पनि बेचबिखन र ओसारपसार हुने गरेको पाइन्छ । राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनका अनुसार नेपालबाट वार्षिक रूपमा करिब १२ हजार १८ वर्ष मुनिका बालिकाहरू यौन व्यवसायका लागि भारत र अन्य खाडी मुलुकमा बेचबिखन र ओसारपसार हुन्छन् ।

माथि उल्लेखित बालबालिका विरुद्धका अपराधका घटनाहरू दिनानुदिन घटिरहेको भएता पनि कानुनी दायरामा धेरै कम मात्र आउने गर्दछन् ।कारबाहीको दायरामा आएकोमा पनि प्रभावकारी अनुसन्धान र अभियोजन नभएको भन्ने टिप्पणी त्रिरत्न चित्रकार विरुद्ध नेपाल सरकार भएको मुद्दामा सर्वोच्च अदालतले गरेको छ । तथापि नेपाल बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रहरूको पक्ष भइसकेको र नेपालको संविधान तथा ऐनकानुनहरुमा बालबालिकाको अधिकार तथा संरक्षणसम्वन्धि व्यवस्था गरिसकेको सन्दर्भमा बालबालिकाको सवालमा राज्य उदासीन रह्यो भन्न सक्ने अवस्था छैन। बालबालिकाको हकलाई नेपालको संविधानले मौलिक हकको रूपमा परिभाषित गरी बालबालिकाहरू फरक भएको र उनीहरूको हकहितलाई ध्यान दिनुपर्ने कुरामा जोड दिएको छ । भर्खरै मात्र बालबालिका सम्बन्धी ऐन, २०७५ जारी भई कार्यान्वयनमा आएको छ उक्त ऐनमा बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी उनीहरूको हकहित संरक्षणमा विशेष ध्यान दिइएको छ ।

बालबालिकाको हितको विषय उनीहरूको मात्र विषय नभई भविष्यको समाज तथा राज्यको विषय भएकोले उनीहरूमाथि हुने अपराध तथा दुर्व्यवहारहरूले दैनिक जीवन, राष्ट्रिय विकास प्रक्रिया त अन्य पहलहरूमा असर पर्दछ । तसर्थ, यसले सम्पूर्ण पक्षहरूमा नकारात्मक असर पार्ने हुनाले उक्त संवेदनशीलतालाई ध्यानमा राखी बालबालिका विरुद्ध हुने अपराधलाई सोहिअनुरुप सम्बोधन हुने गरी कानुन निर्माण र कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।

बालबालिकाको विषयलाई अन्य महिला र वृद्दवृद्दाहरुसँग जोडेर हेरिएको कारणले यो विषय सहायक विषयको रूपमा हेरिने हुनाले बालबालिका विरुद्ध हुने अपराधमा न्यूनीकरण हुन नसकिरहेकोले यस विषयलाई अब छुट्टै विषयको रूपमा परिभाषित गरिन जरुरी छ ।केही गरी बालबालिका दुर्व्यवहार तथा अपराधको सिकार भएमा दोषीलाई तुरुन्त कारबाही तथा पीडितको लागि क्षतिपूर्ति प्रदान गर्ने बालबालिकामुखी न्यायसंयन्त्रको विकास गर्नुपर्दछ । हाल बालईजलासवाट भइरहेका कामकारबाहीहरू वाल अदालतले गर्ने गरी आवश्यक पूर्वाधार विकास गर्नुपर्दछ ।

मानव बेचबिखन भन्नासाथ बालिकाहरू बढी पीडित हुने तथा त्यसको सिकार भएको हुने हुनाले सरकारले त्यस्तो बेचबिखनको जोखिममा परेका समूह तथा व्यक्तिहरूलाई लक्षित गरी जानकारीहरू, शिक्षामा पहुँच, तथा आयमूलक तालिमहरू प्रदान गर्नुपर्दछ । समाजमा यौन हिंसालाई न्यूनीकरण गर्नको लागि यौन शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्न र यौन हिंसालाई सामान्य घटनाको रूपमा सोच्ने सामाजिक सोचाई परिवर्तन गरी जनजागरण गर्नुपर्दछ । हालको सन्दर्भमा अपराधलाई राजनीतिकरण गरी अपराधीलाई उन्मुक्ति दिने प्रचलन बढेको छ, यसको अन्त्य हुन जरुरी छ । बालबालिकाहरूलाई इन्टरनेट तथा अन्य सञ्चारका माध्यमबाट हुने दुर्व्यवहार रोक्न समयमै अश्लील इन्टरनेट साइटहरू ब्लक गर्ने, यस सम्बन्धी छुट्टै कानुन निर्माण गर्ने, सेक्स टुरिजम नियन्त्रण तथा व्यवस्थित गर्न आवश्यक छ ।
बालबालिका सम्बन्धी अपराधका घटना हाम्रो सामाजिक संरचनाको कारणले विरलै मात्र बाहिर आउने भएकोले आएका ती घटनाहरूमा पनि पीडितलाई न्याय र पिडकलाई सजाय दिनको लागि प्रभावकारी अनुसन्धान र अभियोजन गर्न

नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयहरूमा बाल न्यायलाई प्रभावकारी ढङ्गले बुझेको छुट्टै सेलको स्थापना गर्नुपर्दछ । सर्वोच्च अदालतले पनि फैसला गर्दा अपराधीलाई सजाय दिन भन्दा पनि पीडितलाई पुनः स्थापना गर्नेतर्फ बढी विचार गर्नुपर्ने देखिन्छ र पीडितलाई पर्याप्त क्षतिपूर्ति प्रदान गर्ने आदेश दिनुपर्छ र प्रतिवादीले क्षतिपूर्ति दिन नसक्दा राज्यले दिनका लागि आदेश दिनुपर्ने अवस्था सिर्जना भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रले पनि आफ्ना कामकारबाहीहरू पनि बालबालिकाको सर्वोत्तम हितमा लक्षित गर्नुपर्दछ । अन्त्यमा, बालबालिकाप्रतिको लगानी देशको समुच्च उज्ज्वल भविष्य भएकोले पर्याप्त बजेट विनियोजन गरी सुस्त मनस्थिति केन्द्र, वाल कल्याण गृह तथा वाल सुधार गृहको स्थापना तथा प्रभावकारितामा विशेष चासो दिँदै बालबालिका विरुद्ध हुने अपराध न्यूनीकरणको लागि राज्य सम्पूर्ण सरोकारवाला निकायहरूसँग हातेमालो गर्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस