अधिकार रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नु आवश्यक : मुख्यमन्त्री राउत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अधिकार रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नु आवश्यक : मुख्यमन्त्री राउत


२४ मंसिर २०७६, मंगलबार


लोक सेवा

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं २ कार्यालयद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले आफ्नो अधिकारको संरक्षण गर्दा अरूको अधिकार हनन गर्न नहुने कर्तव्य पनि निर्वाह गर्नु आवश्यक छ भन्दै उनले आफू आनन्दित हुने र अरूलाई दुःख पुर्‍याउने गतिविधि गर्न हुँदैन भने ।

मुख्यमन्त्री राउतले सभ्य समाज, समृद्ध राष्ट्र र आदर्शमुखी आचरण सन्दर्भमा मानव अधिकारको सवाल महत्वपूर्ण रहेकाले यसप्रति सबै सजग हुनु जरुरी भएको बताए । उनले अधिकारको प्रयोग गर्दा गम्भीर हुनुपर्नेमा जोड दिँदै यसको संरक्षण आ–आफ्नो स्तरबाट गर्नुपर्ने धारणा राखे।

प्रदेशका मुख्य सचिव रामकृष्ण सुवेदीले मानव अधिकारको रक्षाका बारेमा सरकारमाथि मात्र आश्रित नभई आफू र आफ्नो घरलाई भुल्न नहुने बताए । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल जिल्लामा महिला र बालबालिकाको अधिकार हनन, हिंसा, फिरौती, बलात्कार, हिंसा, यौनजन्य, दाइजोसँग सम्बन्धित घटना अधिक हुने गरेको बताए ।

आयोगका कार्यालय प्रमुख वीरबहादुर बुढामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा एडभोकेसी फोरमका राजकुमार महासेठ, इन्सेकका राजु पासवान र थर्ड एलाइन्सका विनोद महरा तथा मानव अधिकार महाभेलाका संयोजक धीरेन्द्रबहादुर सिंहले प्रदेश नं २ मा गैरन्यायिक हत्याका घटना बर्सेनी बढ्दै गएकोप्रति ध्यानाकर्षण गराए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस