जनताको आशा र भरोसा टुट्न दिनेछैन : भट्टराई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनताको आशा र भरोसा टुट्न दिनेछैन : भट्टराई


१६ मंसिर २०७६, सोमबार


चिप्लेढुङ्गा । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिने बताएका छन् । मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उनले जनताले जुन उत्साहका साथ मतदान गरेर जिताए अबको बाँकी समय तिनकै सेवक भएर बिताउने बताए ।

“राजनीतिमा अझै पनि धेरै चुनौती छन्, राजनीतिक संस्कारको अभााव छ । युवामा राजनीतिप्रतिको विश्वास गुमेको छ, अबको राजनीतिले नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ, जनताको चाहनालाई सुनुवाइ गर्नुपर्छ”, प्राध्यापन पेशाबाट राजनीतिमा फर्किएका उनले भने ।

उपनिर्वाचनमा मतदाताले समुद्ध नेपाल सुखी नेपालीका अभियानकर्मी आफ्ना जीवनसाथी रवीन्द्रप्रसाद अधिकारीको पनि सम्मान गरेको बताए । भट्टराई उनले आइतबार पोखरा महानगरपालिका–२० मा श्रमिकको बाटो निर्माण क्रममा पुरिएर मृत्यु भएको घटनाले आफूलाई निकै दुःखी बनाएको छ भन्दै मृतक मजदूरप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

अनेरास्ववियुका सचिवसम्म रहनुभएका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूलाई बधाई दिएर देखाएको राजनीतिक संस्कारप्रति पनि धन्यवाद दिए । नेकपाका नेता तथा भट्टराईका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचन भएको थियो ।

कास्कीमा क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५६३ मत खसेको थियो । भट्टराईले २४ हजार ३९४ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको थियो । आठ हजार ४०३ को मतान्तरले भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस