मतदाता शिक्षा कार्यकर्तालाई सहयोग गर्नुस् : निर्वाचन आयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतदाता शिक्षा कार्यकर्तालाई सहयोग गर्नुस् : निर्वाचन आयोग


६ मंसिर २०७६, शुक्रबार


काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका सम्पूर्ण मतदातासमक्ष मतदाता शिक्षा कार्यकर्तालाई सहयोग गरी सबैको सहभागितामा सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्ने/गराउने कार्यमा योगदान पुर्‍याउन अनुरोध गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यको रिक्त पदका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने ३७ जिल्लामा मतदातालाई प्रशिक्षित तुल्याउन बिहीबारदेखि मतदाता कार्यकर्ता परिचालित छन् । मतदाता कार्यकर्ताले ठीक तरिकाले मतदान गर्न र बदर मत न्यूनीकरण गर्न मतदाताको घरदैलोमै पुगेर मतादाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

स्थानीय तहका प्रत्येक वडामा दुई जनाका दरले खटिने मतदाता शिक्षा कार्यकर्ताले उपनिर्वाचनसम्बन्धी जानकारीमूलक पोष्टर टाँस्नुका साथै निर्वाचनसम्बन्धी पुस्तक र पर्चा वितरण गर्ने छन् । उनीहरुले नमूना मतपत्रको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे पनि मतदातालाई जानकारी गराउने छन् ।

मतदाता कार्यकर्ताको रूपमा सम्बन्धित जिल्लास्थित प्राथमिक तह वा बाल विकास केन्द्रका शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविकामध्येबाट आवश्यक सङ्ख्यामा जिल्ला निर्वाचन कार्यालयबाट खटिएको आयोगले जनाएको छ । सामुदायिक केन्द्रका तालीमप्राप्त सहजकर्तालाई समेत मतदाता शिक्षा कार्यक्रममा समावेश गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस