न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार खोस्दै गएको आरोप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार खोस्दै गएको आरोप


६ मंसिर २०७६, शुक्रबार


पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन् ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक परिषद्लाई पनि कठपुतली बनाउन खोजेको दोषारोपण गरे । उनले कास्कीमा लामो समय योगदान गरेका नेता खेमराज पौडेललाई जिताउन पनि सबैसँग आग्रह गरे ।

सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा नियन्त्रण गर्ने सोचका साथ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाउँदै यसलाई राष्ट्रपतिले जारी गर्न नहुने धारणा राखे ।
कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आसन्न उपनिर्वाचन जनमतसङ्ग्रहजस्तै भएको बताउँदै निर्वाचनमा जनताको मन जित्दै पार्टीका उम्मेदवार विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध हुनु आवश्यक भएकामा जोड दिए ।

एशोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, महासचिव लक्ष्मी दाहाल, पूर्वअध्यक्ष शेरबहादुर केसी, फणीन्द्र कोइरालालगायतले स्वतन्त्र न्यापालिका र लोकतन्त्र एकापसमा अन्तरसम्बन्धित भएको बताउँदै लोकतन्त्रमा नै स्वतन्त्र न्यायालयको भूमिका प्रभावकारी बन्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस