विशेष परिस्थितिमा खरिद « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विशेष परिस्थितिमा खरिद


२ मंसिर २०७६, सोमबार


तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानी नोक्सानी हुने अवस्था आईपरी सार्वजनिक निकायले तत्काल खरिद गर्नुपर्ने अवस्थालाई सार्वजनिक खरिद कानूनको भाषामा विशेष परिस्थिति भनिन्छ। सार्वजनिक निकायका प्रमुखले विशेष परिस्थिति र तत्काल गर्नु पर्ने खरिद सम्बन्धी विस्तृत विवरणको जानकारी एक तह माथिको अधिकारीलाई दिनुपर्छ।

सार्वजनिक निकायले दश लाख रुपैंयाँ भन्दा बढी रकमको विशेष परिस्थितिमा खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नुपर्छ र सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनु पर्छ।

सार्वजनिक निकायले विशेष परिस्थितिमा खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी खरिद गर्नु पर्छ।

यसरी खरिद गरिएको भएमा विशेष परिस्थितिमा खरिद गरिएको छुट्टै फाइल खडा गरी देहायका कुरा खुल्ने कागजात अभिलेखमा राख्नुपर्छ।
१. विशेष परिस्थिति सम्बन्धी विवरण,
२. तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा पर्ने संकट,
३. खरिदका अन्य विधि अपनाउन नसकिने कारण र आधार ।

प्रतिक्रिया दिनुहोस