सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री भट्ट


२८ कार्तिक २०७६, बिहिबार


कैलाली । नेपाली काङ्ग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सीमा अतिक्रमणलगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै मुख्यमन्त्री भट्टले सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर रहेको बताए।

उनले सीमा अतिक्रमणका घटना दृढताका साथ रोक्न नेपालको सङ्घीय सरकारदेखि प्रदेश र स्थानीय सरकार तथा सम्पूर्ण जनता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री भट्टले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ता र स्थानीय जनताको सुरक्षाका लागि भारतसँग कूटनीतिक छलफल गरी समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेसले दार्चुलाको कालापानी, लिपुलेक र कालापानीमा भएको अतिक्रमण रोक्न पहल गर्नलगायत प्रदेश संसद् बैठक अह्वान गर्न र चालू वर्षका योजना कार्यान्वयनमा तदारुकता दिन मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाइएको कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस