सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षामा सहभागी हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षामा सहभागी हुँदै


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौँ । मुलुकभर क्रियाशील रहेका सहकारी संस्थाले आफू मातहतका सम्पूर्ण कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमबार भएको छलफलमा विभिन्न सहकारी सङ्घका पदाधिकारीले आफू मातहतका सहकारीसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकलाई तत्काल कोषमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सहकारीले योजनामा उत्साहजनक सहभागिताका लागि जागरण फैलाउन देशव्यापी अभियानसमेत चलाउने भएका छन् ।

“कोषका बारेमा जागरण फैलाउन हामी देशव्यापी अभियान चलाउने तयारीमा छौँ”, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष डिबी कार्कीले भने, “त्यसका लागि देशैभर रहेका हाम्रा प्रशिक्षकलाई पहिला प्रशिक्षित गर्छौं, त्यसका लागि सामाजिक सुरक्षा कोषले सहजीकरण गर्नुपर्‍यो ।”

देशभर करीब २० हजार बढी सहकारी संस्था क्रियाशील छन् । ती सहकारीमा करीब पाँच लाख कर्मचारी काम गर्छन् । “हामी समयसीमाभित्रै सबै श्रमिकलाई कोषमा सहभागी गराउन प्रतिबद्ध छौँ”, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले भने । छलफलमा सहकारी सङ्घ मातहतका प्रशिक्षकलाई सामाजिक सुरक्षा योजना र सहभागिताका बारे प्रशिक्षित गर्ने र देशैभर जागरणका लागि पठाउने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

त्यसअन्तर्गत काठमाडौँ उपत्यकाका सहकारीका लागि आगामी शुक्रबार प्रशिक्षण कार्यक्रम गरिनेछ । छलफलमा श्रममन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि समग्र सहकारी क्षेत्रले देखाएको तत्परताका लागि आभार व्यक्त गरेका थिए । “यो अनिवार्य विषय भएकाले देशैभरका सहकारी र सहकारीमा काम गर्ने श्रमिक साथीहरुलाई कोषमा सहभागी गराउन थप पहलकदमी लिनुहोस्”, उनले भने ।

पछिल्लो समय मन्त्री विष्टले मुलुकभर क्रियाशील रहेका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई कोषको दायरामा ल्याउन पहलकदमी लिँदै आएका छन्। उनले आजै नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग छलफल गरेका थिए । यसअघि मन्त्री विष्टले बिहीबार नेपाल बैंकर सङ्घ, शुक्रबार गैरसरकारी सङ्घ संस्था, उपभोक्ता महासङ्घ र आइतबार एनप्याब्सनका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस