सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्न गुरुयोजना ल्याइने : मन्त्री मगर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्न गुरुयोजना ल्याइने : मन्त्री मगर


२५ कार्तिक २०७६, सोमबार


धम्बोझी । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले देशैभरिको सबै स्थानीय तहसँगको सहकार्यमा खानेपानी र सरसफाइसम्बन्धी गुरुयोजना बनाउन लागेको बताएकी छन् । स्थानीयस्तरमा खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीसम्बन्धी आज बर्दिया सदरमुकाम गुलरियामा आयोजित अन्तक्रियामा उनले भनिन्, ‘सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्ने गरी गुरुयोजना बनाउन लागिएको हो ।’

उनले अल्पकालीन र दीर्घकालीनरुपमा खानपानीको समस्या हल गर्न सबै स्थानीय तह र प्रदेशलाई बजेट विनियोजन गरिएको जानकारी दिइन् । खानेपानी अभाव भएको गाउँ, नगरमा खानेपानीको व्यवस्था गरी समस्या सामाधान गर्न कर्मचारीलाई सक्रियपूर्वक काम गर्न मन्त्रीले निर्देशन दिइन् । खानेपानीको लागि उपभोक्ता पनि सक्रिय हुनुपर्ने मन्त्री मगरको भनाइ छ ।

कार्यक्रममा प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्य तिलक शर्माले गरीबका लागि सार्वजनिक खानेपानी टोलटोलमा पुर्‍याउन आवश्यकता रहेको बताए । संघीय सांसद तुलसी थापा र विमला विक तथा प्रदेशसभा सदस्य कुलप्रसाद केसी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलगायतले पनि खानेपानीको समस्या समाधानका विषयमा मन्तव्य राखेका थिए । सो अवसरमा स्थानीय उपभोक्ताले वर्षौंदेखि आफूहरुले खानेपानीको समस्या झेल्दै आएको बताउँदै यसको समाधानका लागि खानेपानीमा पर्याप्त बजेट विनियोजन गर्न माग गरे ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस