बङ्गलादेशका राष्ट्रपति हमिद भोलि नेपाल आउँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बङ्गलादेशका राष्ट्रपति हमिद भोलि नेपाल आउँदै


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्ने भएका छन् ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सि बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्ने छन् । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने छन् ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने छन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस