१४ घण्टामै करीब ३२ खर्बको कारोबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१४ घण्टामै करीब ३२ खर्बको कारोबार


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । चिनियाँ ई कमर्श समूह अलिबाबाको अनलाइन प्लेट फर्ममा १४ घण्टामैं २८ अर्ब २६ करोड डलर(करिब ३२ खर्ब रुपैयाँ) को कारोबार भएको छ ।

गत मध्यरातिदेखि २४ घण्टाका लागि सिंगल्स डे अफर शुरु भएसँगै रेकर्ड परिमाणमा कारोबार भएको हो । लत्ता कपडा, घरायसी र विद्युतीय सामानदेखि विलासिताका सामानसम्म ठूलो छूट दिइएको छ । बेइजिङको मध्यराति १२ बजे कारोबार शुरु भएको ९६ सेकेण्डमा १ अर्ब ४३ करोड डलरको कारोबार भइसकेको चाइना डेलीले लेखेको छ ।

गत वर्ष सिंगल्स डेको २४ घण्टामा ३० अर्ब ८० करोड डलरको कारोबार भएको थियो । यो वर्षको कारोबारले गत वर्षको रेकर्डलाई सजिलै उछिन्ने अनुमान गरिएको छ । चिनियाँ अर्थतन्त्र मन्दीमा गएको आशंका बीच सिंगल्स डेमा भएको कारोबारले आन्तरिक उत्पादन र खपत दरिलो रहेको संकेत गरेको छ ।

चिनियाँ अर्बपति ज्याक माँले सन् १९९९ मा स्थापना गरेको अलिबाबा अन्तर्गतका थाओपाओ र टीमल अनलाइन खुद्रा सपिङ साइटले चीनमा खरिददारीको परम्परागत शैलीलाई नै बदलेको विश्वास गरिन्छ ।

सन् २००९ देखि अलिबाबाले नोभेम्बर ११ अर्थात सिंगल्स डेको दिन किनमेल गर्नेलाई लक्षित गरी अनलाइन सपिङमा छूट दिन शुरु गरेका थिए । अहिले यो संसारकै सर्वाधिक ठूलो अनलाइन सपिङ डे बनिसकेको छ ।

सन् १९९३ मा नाञ्चिङ विश्वविद्यालयमा अध्ययनरत प्रेमी–प्रेमिका नहुने चिनियाँ विद्यार्थीले एकल दिवसका रुपमा सिंगल्स डे मनाउन शुरु गरेका थिए । अलिबाबाले यही दिनलाई व्यापारिक कारोबारसँग जोडेर छूट दिन थालेपछि यसले चीनमा सांस्कृतिक रुप लिन थालिसकेको छ ।

लाखौं चिनियाँहरु सामान किनमेलका लागि यही दिन पर्खेर बस्ने विश्वास गरिन्छ । एकै पुस्तामा चामत्कारिक आर्थिक प्रगति गरेको चीनमा खरीद क्षमता भएका मानिसहरुको संख्या बिस्तारले उपभोग्य वस्तुको माग आश्चर्यजनक रुपमा बढिरहेको छ ।

सिगंल डे भनिने नोभेम्बर ११, २०१७ को २४ घण्टामा थाओपाओ र टीमलमा मात्रै २५ अर्ब डलर बराबरको सामान किनमेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस