मनाइयो हरिबोधिनी एकादशी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनाइयो हरिबोधिनी एकादशी


२२ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ ।

आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।

औषधीय गुणले युक्त तुलसी मानव जीवनका लागि उपयोगी रहेको तथ्य आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । ऋषिमुनिले वन जङ्गलमा वनस्पतिका रुपमा तुलसीको अनुसन्धान गरी उपयोगी भएपछि पूजाआजाको रीत बसालेको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

धेरै रोगमा औषधिको काम गर्ने तुलसी रोपिएको वरपर मलेरियाका जीवाणुसमेत नआउने वैज्ञानिक मत छ । आषाढ शुक्ल एकादशीका दिन घरको मठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बसेका थिए । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको उनले जानकारी दिए । चार महीना अघिदेखि क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।

चार नारायणको आज एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शन गर्न आएका थिए । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ ।

बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए ।

नाराययणस्थानमा आज ५ लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उनले बताए । बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । नेपाल भ्रमण वर्षमा बूढानीलकण्ठको प्रचारप्रसार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने मेलामा आएकी रामकुमारी थापाले बताइन् ।

यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो । हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिएका थिए ।

बूढानीलकण्ठ र इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले दुवै नगरपालिकाले नगरभर सार्वजनिक बिदा दिएका हुन् । देशभरका नारायण मन्दिरमा पनि दिनभर भक्तजनको भीड लागेको थियो ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस