सत्यवती ताल : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्यवती ताल : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ !


२० कार्तिक २०७६, बुधबार


पाल्पा । हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ ।

जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ गतेबाट शुरु हुँदैछ ।

सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्याएर वर माग्ने धार्मिक मेला प्रत्येक वर्षझैँ यो वर्ष पनि आइतबारबाट शुरु हुँदैछ । सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेष गरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ ।

सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ । त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गोसँगै लिएर जान्छन् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताए।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताए । अध्यक्ष गाहाका अनुसार यसपालि पूजा गर्ने जोग परेको दाबी छ । कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ । ‘पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो । पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ’, अध्यक्ष गाहाले भने ।

सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीन दिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने विश्वास गाउँपालिकाको अध्यक्ष ओमबहादुर घर्तीको छ ।

मेला भर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने बताइएको छ ।

सत्यवती तालको महत्व

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण छ । पहाडको उच्च भागमा रहेको ताल क्षेत्र सधैँ चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक त्यहाँ पुग्न रुचाउने गर्दछन् । वन, वातावरण र जैविक विविधताको हिसाबले यस क्षेत्रको महत्व रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए ।

सीमसार क्षेत्रमा दुर्लभ

चार रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र सीमसार क्षेत्रमा रहेको दुर्लभ तालका रुपमा रहेको पाइन्छ । चुरे र सीमसार क्षेत्रमा कमै मात्रामा ताल हुने र त्यसमध्येकै यो एउटा महत्वपूर्ण ताल रहेको छ । तालको छेउमा बाजेबज्यैको मन्दिर छ । तालको वरिपरि पर्यटकका लागि व्यवस्थित गोरेटो बाटो पनि छ ।

कसरी गर्ने पूजा

ताललाई तीन पटक घुम्दै वर माग्नुपर्छ । स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन् । त्यसपछि तालको छेउमा बाँसको लिङ्गो गाडेर पूजा गर्ने चलन छ । त्यहाँ पूजा गरी बज्यैको मन्दिरमा दर्शन गरी टीका ग्रहण गर्न सकिने मन्दिरका सचिव लालबहादुर दर्लामी बताए । मन्दिर नजिकै पूजा गर्ने स्थान तोकिएको छ । त्यहाँ बलि चढाउने चलन पनि छ । बोका, पाथी, हाँस, राँगा चढाउने चलन रहिआएको छ । परेवालाई उठाउने चलन पनि रहेको सचिव दर्लामीले बताए ।

कसरी पुग्ने ताल

रुपन्देहीको बुटबल उपमहानरपालिका क्षेत्रबाट आउनेलाई दोभानको झुम्सा पानीमिलबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्ने हुन्छ । करीब छ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । सत्यवती क्षेत्रमा उकालो हिँड्नु पर्दैन । झम्सादेखि करीब दुई घण्टामा सत्यवती पुग्न सकिन्छ ।

पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न करीब दुई घण्टा लाग्छ । पाल्पा तानसेन सडकको चौबीस माइलबाट करीब दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ । मेला अवधिभर यातायातको साधन सञ्चालनमा समितिले रोक लगाएको छ । भक्तजनका कारण बाटोमा भीड हुने भएकाले यातायातका साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस