कञ्चनपुर । कञ्चनपुरका मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढाउनका लागि संयुक्त जग्गाधनी पुर्जा वितरण कार्य अगाडि बढाइएको छ ।
जग्गामा बराबरी स्वामित्वले परिवार र समाजमा महिलाको मानसम्मान र पहिचान बढ्ने भएकाले संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
चालू आवमा पुनःस्थापनमा परेका पुनर्वास नगरपालिका–९ का ४२ मुक्त हलिया परिवारलाई उपलब्ध गराएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्व कायम हुने गरी संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्ष भीमदत्त नगरपालिकाको तिलाचौरका १५, ब्रह्मदेवका १४ र शुक्लाफाँटा नगरपालिकाको खल्लाका १९ मुक्त हलिया परिवारलाई महिला र पुरुषको समान स्वामित्व हुने गरी संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताए ।
जग्गाधनी पुर्जामा श्रीमान्को मात्रै नाम हुँदा बहुविवाह गर्ने, श्रीमतीको इच्छाविपरीत जग्गा–जमीन बिक्री गर्ने तथा घरेलु हिंसा गरी घर निकाला गर्ने, लाउनखान नदिने समस्यालाई संयुक्त पुर्जाको व्यवस्थाले घटाउने उनले बताए। “महिला पुरुषको जग्गामा बराबरी स्वामित्व भएमा कृषि उत्पादन बढाइ पारिवारिक र समुदायस्तरको खाद्य अधिकार सुनिश्चित गर्ने भएकाले परिवारमा मेलमिलाप, आत्मविश्वास, पहिचान र सुरक्षाको अनुभूति हुने हुँदा संयुक्त जग्गाधनी पुर्जा वितरणमा जोड दिएका छौँ”, उनले भने ।
“जग्गामा भएको समान हकले महिलाहरु वित्तीय कारोवार ऋण लिन, उद्यम गर्न, सापटी लिन र दिन सक्षम हुन्छन”, उनले भने, “यस कार्यले महिलाको सशक्तीकरण पक्षलाई बढाउँछ । श्रीमान्मा रहेको परनिर्भता घट्छ र विभेद हटी घरेलु हिंसाका घटनामा कमी ल्याउन सकिन्छ ।”
विसं २०६८ को जनगणनाअनसार सुदूरपश्चिमका २२ हजार ३०० महिलाका नाममा घर र जग्गा दर्ता छ । यसमध्ये १४ हजार महिलाले मात्रै जग्गामा स्वामित्व पाएका छन् ।
–––







