प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश


१४ कार्तिक २०७६, बिहिबार


राँझा । बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रामशरण थारूलाई उम्मेदवार सिफारिश गरेको पार्टी नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिए । नेपाली काङ्ग्रेसले कृष्ण थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिश गरेको छ ।

नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारूको निधन भएपछि सो पदमा आगामी मङ्सिरमा उपनिर्वाचन हुने भएपछि चुनावी चलपहल शुरू भएको छ । अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामसोहन ४२४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका श्रीराम थारूले ३५२ मत प्राप्त गरेका थिए ।

यसैगरी तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारूले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले ५६ मत प्राप्त गरेका थिए। नेपाली काङ्ग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जित आफ्नो पक्षमा पार्ने दाउमा छ । वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन् ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका रामसोहन थारूको २०७५ मङ्सिर ९ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस