सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार


९ कार्तिक २०७६, शनिबार

लिस्बन । सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गरेका छन् । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहनुभएकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका देशमा नेपाल भ्रमणको प्रचारप्रसार गरेका हुन् ।

नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपालका हिमशृङ्खलालगायत विभिन्न सम्पदाहरुको तस्वीर, पर्यटकीयस्थलको जानकारीमूलक पर्चा, ब्यानर र वृत्तचित्रसहित पत्रकार महर्जनले युरोपमा नेपाल भ्रमणको प्रचार–प्रसार गरेका हुन् ।

भ्रमण वर्ष–२०१९ को प्रचारप्रसार, सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमशिखरहरुको प्रचारप्रसार गर्न तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले युरोपका विभिन्न मुलुकमा प्रचारमूलक कार्यक्रम सम्पन्न गरिएको पत्रकार महर्जनले जानकारी दिए । सो अवसरमा विभिन्न मुलुकहरुमा आयोजित कार्यक्रममार्फत विदेशीलाई नेपाल भ्रमणका लागि आह्वान गरिएको उनले बताए ।

प्रचारप्रसारकै क्रममा महर्जनले अष्ट्रियाको मुटकोफ हुटेमा आयोजित ‘नेपाल फेष्ट’ कार्यक्रममा नेपालको पर्यटन वर्ष २०२० को प्रवद्र्धन गर्नुका साथै नेपाली कला, लोक संस्कृति र नेपाली खानासम्बन्धी भिडियो बृत्तचित्रहरु प्रर्दशन गरेका थिए । यस्तै स्लोभाकियाको राजधानी ब्राटिसलाभामा आयोजित कार्यक्रममा महर्जनले सगरमाथा आरोहणको अनुभव साट्नुका साथै नेपालसम्बन्धी जानकारीमूलक र प्रचारमूलक बृत्तचित्र प्रदर्शनी गरे ।

फ्रान्सको कोर्सिका टापुको आजाक्सिओ शहरमा आयोजित सप्ताहव्यापी अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पर्वतीय पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको पत्रकार महर्जनले जानकारी दिए । उक्त चलचित्र महोत्सवमा सगरमाथा आरोही महर्जनले नेपाल पर्यटन बोर्ड र ललितपुर महानगरपालिकाद्वारा तयार गरिएको प्रचार सामग्री वितरण गर्दै सहभागी विदेशीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

फ्रेन्च नागरिक आँन बेनोइट जानिन् र जाँमिसेल आँसलिनको समूहद्वारा निर्मित ‘ले बेले अनभोली’ नामक फ्रेन्च वृत्तचित्रका पात्रसमेत रहनुभएकी महर्जनको उक्त वृत्तचित्रमेत प्रर्दशन गरिएको थियो । उक्त वृत्तचित्रमा महर्जनको सामाजिक परिवेश, सङ्घर्ष, हिमाल आरोहण र महिला भएकै कारण भोग्नुपरेको विभेदलगायतका विषयमा चित्रण गरिएको छ ।

यस्तै फ्रान्सको आल्बर्टभिल्लेमा आयोजना भएको पर्वतीय चलचित्र महोत्सवमा पनि उक्त वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा पनि महर्जनले नेपाली कला, लोक संस्कृति, सभ्यता, नेपालको पर्यटकीयस्थलहरुको जानकारी गराउँदै नेपाल भ्रमण गर्न उपस्थित विदेशीहरुलाई आह्वान गरे । पत्रकार महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपाल र चीनतर्फ गरी दुवै मोहोडाबाट सफल आरोहण गरी कीर्तिमान राख्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस