सरकार निर्माणमा जुटिरहेको छ : कावा प्रम पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकार निर्माणमा जुटिरहेको छ : कावा प्रम पोखरेल


८ कार्तिक २०७६, शुक्रबार


विराटनगर ।  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनावदेखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको भनेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङ जिल्ला कार्य समितिद्वारा आज यहाँ आयोजित शुभाकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको पहिलो वर्ष आधार वर्ष भएको र अब सरकार देश र जनताका सेवामा लागिपर्ने बताए ।

आधार वर्षमै ३८० कानून निर्माण भइसकेको जानकारी दिँदै उनले यसपछि दिइने सेवाका लागि कानूनको संरचना निर्माण भइरहेको धारणा व्यक्त गरे । ‘सरकारले भूमि, कृषि र शिक्षा नीति बनाई सामाजिक सुरक्षा र औद्योगिक क्षेत्रमा काम गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बाटोतर्फ अग्रसर छ,’ कावा प्रधानमन्त्री पोखरेलले भने, ‘सरकारले जलविद्युत्, व्यापार वृद्धि, कृषिलाई व्यवस्थित गरी आधुनिकीकरणतर्फ कदम चालिसकेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय सदस्यसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुईवटा धार भएका कम्युनिष्ट पार्टीको एकताले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको छ भन्दै पार्टीको स्वार्थ विशेषले नभई देश र जनताको आवश्यकताका आधारमा एकता भएको हो भने । उनले महान् एवं ऐतिहासिक यो एकताले नेपाली जनताको भविष्य उज्ज्वल पार्नेमा पनि जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पद्धतिमा चल्न सक्यो भने कसैले पनि पराजित गर्न नसक्ने बताए । विचार, सङ्गठन, भावना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा पार्टी एकीकरण भएको चर्चा गर्दै उनले पार्टी एकीकरणले देश र देश बाहिर पनि उत्साह बढाएको छ भने ।

चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण दिँदै अध्यक्ष दाहालले आन्तरिक एकता र अनुशासनले नै देश विकसित भएको चर्चा गरे । उनले नेताहरुलाई फुटाउन चलखेल नभएका होइनन् भन्दै एकतालाई सुदृढ र रक्षा गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गरे । अध्यक्ष दाहालले आँखाको नानी जस्तै एकतालाई बचाउनुपर्ने र समाजवादका आधारमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सकिने धारणा व्यक्त गरे ।

उनले जीत र हारको अवस्था के हुन्छ भन्ने विगतका दिनलाई सम्झन आग्रह गर्दै पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र विकसित हुँदै गएको छ भने । चीनमा पार्टी विरोधी क्रियाकलाप गर्नेलाई पार्टीबाट निष्काशन गर्ने गरेको इतिहास कोट्याउँदै अध्यक्ष दाहालले विचार मिलेर भएको एकीकरणले पार्टी शान्ति, प्रतिस्पर्धा र समाजवादको बाटोमा हिँड्ने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले जनताको सुख र खुशीका लागि घरदैलोसम्म पुर्‍याउन दत्तचित भएर काम गरिरहेको छ भने । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं १ इन्चार्ज भीम आचार्यले संघीयता विकासको आधार भएकाले कम्युनिष्ट एक भएर अघि बढ्नुपर्छ भने ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस