ग्रामीण क्षेत्रको ३८८ घरधुरीमा बत्ती बल्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ग्रामीण क्षेत्रको ३८८ घरधुरीमा बत्ती बल्यो


६ कार्तिक २०७६, बुधबार


दमौली । तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित ऋषिङ गाउँपालिका–४ भिरकोट र घिरिङ गाउँपालिका–४ को ३८८ घरधुरीमा बत्ती बलेको छ । हालसम्म पनि बिजुलीको सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बत्ती बलेसँगै स्थानीयवासीको उज्यालोमा बस्ने रहर पूरा भएको छ ।

ऋषिङ गाउँपालिका–४ को ३५१ र घिरिङ गाउँपालिका–४ को ३७ घरधुरीमा सम्बन्धित गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको सहयोगमा विद्युत् सेवा विस्तार भएको छ । ऋषिङ गाउँपालिका–४ को पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे र डिहीगाउँका २९५ घरधुरीमा आजबाट बत्ती बलेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए ।

वडाध्यक्ष रानाभाटका अनुसार मधुवनको ४५ घरधुरीमा पनि विद्युत् विस्तारका लागि काम भइरहेको छ । ‘उक्त ठाउँमा पनि बत्ती बाल्ने गरी काम शुरु भए पनि केही कठिनाइका कारण केही समय लाग्ने भएको छ,’ रानाभाटले भने, ‘अन्य गाउँमा भने स्थानीयवासीले बिजुली बालिसकेका छन् ।’ रानाभाटका अनुसार गत भदौ महीनाको अन्तिममा सोही वडाको गुम्लेकस्थित ५६ घरधुरीमा बत्ती बलिसकेको छ ।

उक्त ठाउँमा विद्युतीकरणका लागि गाउँपालिकाले गत आव २०७५/७६ मा रु ४० लाख र चालू आव २०७६/७७ मा लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो । रु ८० लाखको लगानीमा दशैँ अगाडि नै बत्ती बाल्ने गरी काम शुरु गरिएपनि केही ढिलाइ भएको रानाभाटले बताए । कूल एक हजार घरधुरी रहेको उक्त वडाको नारायणटार, हाडीटार, गुम्लेक, मधुवनलगायत गरी अब १२५ घरधुरीमा मात्रै बिजुली बल्न बाँकी रहेको छ । उक्त वडाको सबै घरधुरीमा चालू आव भित्रै बत्ती बाल्ने योजना छ ।

जिल्लाकै विकट क्षेत्रको रुपमा परिचित यस ठाउँमा पहिलो पटक बत्ती बाल्न पाएपछि आफूहरुमा खुसीको सीमा नै नरहेको स्थानीयवासी कृष्ण रानाभाटले बताए । ‘अहिलेसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका थियौँ,’ उनले भने, “आजबाट बत्ती बाल्न पाएका छौँ ।’

यसैगरी जिल्लाको विकट गाउँपालिकाको रुपमा चिनिएको घिरिङ गाउँपालिका–४ स्थित गाबुडाँडा र नब्बेटारमा पनि पहिलो पटक बिजुली बलेको छ । घिरिङ गाउँपालिकाको पहलमा उक्त दुई ठाउँका ३७ घरधुरीमा बिजुली विस्तार भएको हो । गाउँपालिकाबाट आव २०७५/७६ मा विनियोजित रु ३७ लाखको लगानीमा उक्त ठाउँमा बिजुली विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । बिजुली नपुगेका अन्य ठाउँहरुमा पनि बिजुली विस्तारका लागि पहल भइरहेको अध्यक्ष रानाले बताए । ‘बिजुली नपुगेका अन्य गाउँमा पनि बिजुली विस्तारका लागि पहल भइरहेको छ,’उनले भने, ‘चाँडै नै घिरिङ गाउँपालिकाका सबै घरधुरी उज्ज्यालो बनाउँछौ ।’

गाबुडाँडा र नब्बेटारमा बिजुली विस्तारका लागि गाबुडाँडामा ट्रान्सफर्मर जडान गरिएको छ । सोही ट्रान्सफर्मरबाट स्थानीयवासीको घर–घरसम्म बिजुली पुर्‍याइएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । “हालसम्म मैनबत्ती र टुकीको भरमा जीवनयापन गर्दै आएका स्थानीयवासी घरमै बत्ती बलेपछि हर्षित भएका छन्,’ उनले भने, “बिजुली पुगेपछि स्थानीयवासीको जीवनशैली पनि बदलिने अपेक्षा गरेका छौं ।’

केही समय अगाडिमात्रै सोही वडाको रामकोट, जितपुर, थामडाँडा, फूला, गुरुङगाउँ र सिप्लुङका १ सय ५५ घरधुरीमा बिजुली विस्तार गरिएको थियो । स्थानीयवासी मोहन रानाभाटले लामो समयको प्रयासपछि घरमै बिजुली बाल्न पाउँदा खुशी लागेको बताए । गाउँपालिकाको वडा नं १ को अत्रौली, पुट्टार, वडा नं २ को मार्कोट, वडा नं ४ को नयाँटार, गड्यौलीटार, लोहोडाँडा लगायतका ठाउँमा अझै पनि बिजुली पुग्न सकेको छैन । उक्त ठाउँमा पनि बिजुली विस्तारका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरी अझै पनि अन्धकारमा छन् ।

वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । ११ के.भी.को ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमि लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि केन्द्रले गत वर्ष रु तीन करोड लगानी गरेको थियो ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत सेवा पुर्‍याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपे लगायतका ग्रामीण वस्तीहरुमा विजुली सेवा पुर्‍याइनेछ ।

त्यस्तै बुद्धसिं फिडर मार्फत् आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका वडा नं ६ खहरे, व्यास नगरपालिका वडा नं १४ नाल्दीघाट लगायतका बुद्धसिं मार्गका छेउछाउका वस्तीहरुमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस