योजना कार्यान्वयनमा चासो दिन मुख्यमन्त्रीको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

योजना कार्यान्वयनमा चासो दिन मुख्यमन्त्रीको आग्रह


५ कार्तिक २०७६, मंगलबार


राँझा । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहका योजना कार्यान्वयनमा जनप्रतिनिधिले चासो दिनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना समयमै सम्पन्न हुन नसके त्यसको प्रत्यक्ष असर जनता र स्थानीय तहलाई पर्ने उल्लेख गरे ।

‘हाम्रा जनप्रतिनिधिमा योजना पार्नमा दौडधूप गरेर जोड दिने तर कार्यान्वयनमा बेवास्ता गर्ने समस्या देखिएको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘योजना पार्नमा जस्तै कार्यान्वयनमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ।’ उनले योजना कार्यान्वयन प्रक्रिया प्रभावकारी नभई रकम खर्च नभएर फिर्ता जानु जनता र स्थानीय तहका लागि प्रत्यक्षरुपमा घाटा हुने र विकास कार्य पछाडि पर्ने भएकाले जनप्रतिनिधिले यस विषयमा अग्रसरता देखाउनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले अघि सारेको समृद्धिको यात्राले लक्ष्य उन्मुख रहेको बताएका छन् । ‘प्रदेश ५ ले कूल गार्हस्थ उत्पादनको ७ दशमलव ७ प्रतिशत वृद्धिदर हासिल गर्न सक्नु समृद्धिको यात्रातर्फ उन्मुख हुनु हो’, मुख्यमन्त्री पोखरेलले भने, ‘जनतामा निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन ।’

संविधान निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले बाँके जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तहका प्रमुख र अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्थानीय तह सञ्चालन, व्यवस्थापन र जनपक्षीय कार्यशैलीका बारेमा प्रशिक्षण दिएको नेकपा बाँकेका सचिव अशोक कोइरालाले जानकारी दिए। मुख्यमन्त्री पोखरेलले बुधबार बाँकेको खजुरा गाउँपालिकाले आयोजना गरेको बृहत् खजुरा सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस