जापानी सम्राट नारूहितोको भब्य समारोहबीच राजगद्दि आरोहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जापानी सम्राट नारूहितोको भब्य समारोहबीच राजगद्दि आरोहण


५ कार्तिक २०७६, मंगलबार


टोकियो । जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गरेका छन् ।

जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो ।

विश्वभरबाट निम्त्याइएका करिब २ हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो ।

सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बनेका थिए । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो ।

जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बसेका थिए । त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे ।

‘राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिएको छु ।’

सम्राट अकिहितोले आफ्नो ३० बर्ष राजगद्दिमा रहँदा सँधै जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताए । सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँ सँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गरे ।

सम्राट नारूहितोले सम्वोधनमा भने, ‘यस अवसरमा मैले जापानी संविधानअनुसार राज्यको प्रतीक र जापानी जनताको एकताका लागि मेरो जिम्मेवारीलाई पूरा गर्ने सपथ खान्छु ‘

उनले भने, ‘जनताको खुसी र विश्वमा शान्तिका लागि सधैँ प्रार्थना गर्दै जापानी जनताको विचारप्रति वफादार रहेर उनीहरूको पक्षमा काम गर्ने अठोट प्रकटसमेत यस शुभ–अवसरमा गर्न चाहन्छु ।’

उनले सम्वोधनको अन्त्यमा समस्त मानवजातीको शान्ति र समृद्धिको प्रार्थनासमेत गरेका थिए । सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बसेका थिए । उनले लगाएको उक्त वस्त्रमा १२ पत्र रहने जापानी अधिकारीहरूलाई उद्धृत गरी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गरेका थिए । भनेसम्राटको दिर्घायूका लागि समारोहका सहभागी सवैले प्रार्थना गरेका थिए । प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गरेका थिए ।

मङ्गलबार नै सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्नेछन् । त्यसपछि प्रधानमन्त्री आवेले सबै अतिथिहरूका लागि रात्रिभोजको आयोजना गरेका छन् । संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ । उनले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने छन् ।

जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस