चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष दाहाल


३० आश्विन २०७६, बिहिबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन् । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघले आजदेखि पूर्वी चितवनमा आयोजना गरेको प्रथम राप्ती महोत्सवको उद्घाटन गर्दै उनले देशको केन्द्रविन्दुमा रहेको यस जिल्लाले विकासमा देशलाई नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

विकासका लागि चितवनमा प्रचुर सम्भावना रहेको बताउँदै उनले भने ‘विभिन्न आन्दोलनमा चितवनले खेलेको भूमिकालाई महसुश हुने गरी विकास गर्नुपर्छ ।’ उनले थपे, ‘देशलाई यस जिल्लाले विकासको नमूना देखाउनु जरुरी छ ।’ अहिले सरकारले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाएको बताउँदै उनले यस्ता मेला महोत्सवले त्यसमा सहयोग पुर्‍याउने बताए ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर सङ्कलन केन्द्र (ढाट) स्थानान्तरणका लागि सरकारसँग आवश्यक पहल गर्ने बताए । उनले भने, ‘एउटै जिल्लावासीले पनि कर तिर्नुपर्ने यो विडम्बना हटाउन प्रयत्न गर्छु ।’ चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका दाहालले जिल्लामा धान खेतीमा देखिएको समस्या समाधान गर्न आवश्यक पहल गरिने उनको भनाइ थियो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले सरकार देशको विकासका लागि पञ्चवर्षीय योजनाका साथ अघि बढेको बताए । सरकारको लक्ष्य प्राप्तिका लागि जनता र राजनैतिक दलहरुले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

यसका लागि देशमा सुशासन आवश्यक रहेको बताउँदै उनले भने, ‘सुशासनका लागि दल र जनताको सहयोग आवश्यक छ ।’ औद्योगिकरण बिना देशमा समृद्धि सम्भव नभएको भन्दै उनले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रथामिकता दिनु आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको व्यापार घाटा घटाउनका लागि स्वदेशी उद्योगलाई प्रथामिकता दिन आवश्यक रहेको बताए । यसका लागि राज्यले व्यवसायमा कर छुटको अवधारणा ल्याउनु आवश्यक रहेको उनको भनाइ थियो । अहिले पनि नेपालले ८० प्रतिशतसम्म व्यापार घाटा बेहोरी रहेको उनले जानकारी दिए ।

प्रदेश नं ३ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामाले जिल्लाको उत्पादनलाई चिनाउन यसखालका मेला महोत्सव प्रभावकारी हुने बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, राप्ती नगरपालिकाका प्रमुख प्रभा बराललगायतले पनि बोलेका थिए । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

आजदेखि शुरु भएको प्रथम राप्ती महोत्सव आगामी कात्तिक ९ गतेसम्म चल्ने छ । महोत्सवमा २५० स्टल रहेका छन् । एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवमा रु ५ करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष कँडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस