सीमा नाका ४८ घण्टाका लागि बन्द हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने


२७ आश्विन २०७६, सोमबार


दार्चुला । भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।

भारतमा असोज २९ गते हुने ग्राम पञ्चायत निर्वाचनका लागि आज साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्मका लागि पुल बन्द हुने भएको हो । भारतको विकास खण्ड धारचुलाअन्तर्गत असोज २९ गते ग्राम पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य एवम जिल्ला पञ्चायत सदस्यका लागि निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दार्चुलासँग जोडिएका सबै नाका बन्द गर्नेसम्बन्धी भारतीय प्रशासनले पत्राचार गरेको थियो ।

भारतीय चुनावका कारण सदरमुकामसँग जोडिएको झोलुङ्गे पुल र तिगरम पुल बन्द हुनेछ । यसअघि असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीको झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवी र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएका थिए ।

नेपाल र भारतमा निर्वाचन हुँदा दुवै देशको सहमतिमा सीमा नाकामा रहेका पुल बन्द हुने गरेका छन् । यस पटक भारतीय पत्राचारअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै नाका बन्द गरिनुभन्दा चार दिनअगावै सञ्चारमाध्यममार्फत बन्द हुनेबारे जानकारी गराएको छ । बन्द गरिएका नाका दुवै पक्षको समन्वयमा खोल्न सकिने बताइएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस