राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्द्धन हुने - प्रशासन प्रशासन

राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्द्धन हुने


प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार १८:४०

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवर्द्धन गर्ने देखिएको छ । बौद्ध दर्शनका शान्ति र अहिंसाका शिक्षाले यी मुलुकलाई विगतदेखि नै नजीकबाट जोड्दै आएकामा यस भ्रमणले नेपालका बौद्ध सम्पदाले पनि अन्तरराष्ट्रिय तहमा महत्व पाउने आशा गरिएको छ । राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ ।

करीब एक अर्ब ४० करोड जनसङ्ख्या भएको छिमेकी चीनमा करीब ४० करोड जनसङ्ख्या बौद्धधर्मका अनुयायी छन् । नेपालमा भने करीब तीन करोडको जनसङ्ख्याको करीब १० प्रतिशत मात्र बौद्ध अनुयायी छन् । बौद्ध साहित्यमा समावेश गरिएका बौद्ध उपदेश र दार्शनिक पक्षको गहिरो अध्ययनले समाजमा शान्ति तथा सहअस्तित्वपूर्ण वातावरण कायम गरी विश्वकल्याणका लागि प्रेरित गर्ने हुँदा त्यसतर्फ अनुयायी आकर्षित छन् ।

अखिल नेपाल भिक्षु महासंघका केन्द्रीय सदस्य भिक्षु तपस्सी धम्मले बुद्ध जन्मथलो लुम्बिनीको विकासमा चीन सरकारले सहयोग गरिरहेको स्मरण गर्दै चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणले बौद्ध सम्पदाको प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुलुकको समग्र विकास र समृद्धिका लागि विभिन्न परियोजनामा छलफल तथा केही सम्झौतामा हस्ताक्षर हुने उक्त भ्रमणका क्रममा कपिलवस्तु, देवदहलगायत प्राचीन सम्पदाको संरक्षण तथा विकासमा समेत छलफल केन्द्रित हुन सकेमा त्यसले अन्तरराष्ट्रिय तहमा सकारात्मक प्रभाव पार्ने बताउँदै उनले धर्म, संस्कृति, भाषा, साहित्यलगायत विषय दुवै देश र जनतालाई एकापसमा भावनात्मकरुपमा जोड्ने काममा बलियो आधार बन्ने विश्वास व्यक्त गरे।

विश्व बौद्ध धर्म का अध्यक्ष भीमसुवा गुरुङले बुद्ध जन्मस्थल लुम्बिनीलाई चीनका बौद्ध अनुयायीले पवित्र तीर्थस्थलका रुपमा आस्था प्रकट गर्ने र समय समयमा तीर्थस्थलको भ्रमण गर्दै आएकाले भ्रमणले थप प्रवर्द्धन गर्ने बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशका बौद्ध अनुयायीहरुको भावनामा सम्मान पुग्ने छ, नेपाल र यहाँका सम्पदाहरुको अन्तरराष्ट्रिय प्रचारप्रसार हुन राम्रो अवसर मिल्ने छ’, उनले भने ।

नेपाल र चीनबीच जनस्तरका आधारमा बनेको सम्बन्धको झन् महत्व छ । अन्तरराष्ट्रिय यात्रामा निस्केका फाइ हान र ह्वेन साङले क्रमशः पाँचौँ र सातौँ शताब्दीमा नेपालमा आएर गरेको खोज अनुसन्धानले दुवै मुलुकबीच ऐतिहासिक र संघसांस्कृतिक सम्बन्ध बलियो बनाएको छ ।

नेपालका बौद्ध विद्वान् बुद्धभद्रले पाँचौँ शताब्दीमा चीनमा गरेको भ्रमणले बौद्ध साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेको थियो । बौद्ध विद्वान् टीका शेर्पाका अनुसार बुद्धभद्रले बौद्ध साहित्यको प्रवर्द्धन गर्ने क्रममा जीवनका २५ वर्ष समय चीनमा बिताएका थिए भने बौद्ध दर्शनलाई नेपालबाट चिनियाँ समाजमा पुर्‍याई स्थानीय जनतासँग बौद्ध अभ्यासलाई अन्तरघुलित गराएका थिए ।

दुवै मुलुकका बौद्ध अनुयायीले सम्बन्धित दर्शन तथा साहित्यलाई अवलम्बन गर्ने र तीर्थस्थलका रुपमा भ्रमण गर्ने परम्परा रहेको बताउँदै शेर्पाले भने, ‘सरकारले लिएको भ्रमण वर्षको अभियानमा चिनियाँ पर्यटकको अभिवृद्धि गर्ने सूचना प्रवाह भएमा शक्तिशाली राष्ट्रका प्रमुखले गर्ने भ्रमण निकै महत्वपूर्ण र अर्थपूर्ण हुने छ ।’

तत्कालीन ललितपुरमा जन्मेका अरनिको अर्थात् बलबाहुले नेपाली वस्तुकलालाई परिचित गर्ने गरी निर्माण गरेको बेइजिङमा श्वेत चैत्यले जनस्तरमा समेत प्रभावकारी सम्बन्ध कायम गरेको छ । तेह्रौँ शताब्दीमा नवनिर्मित संरचना अहिले विश्वसम्पदा सूचीमा सूचीकृत महत्वपूर्ण संरचनाका रुपमा मानिएको छ । उनको नेतृत्वमा ८० सदस्यीय प्रतिनिधिमण्डलले जीवनभर चीनमा बसेर थुप्रै गुम्बा, चैत्य, बुद्ध मूर्ति र चित्रलगायत सम्पदा बनाए ।

यस प्रकारका संस्कृतिले दुई देशलाई भावनात्मकरुपमा सम्बन्धको उचाइ अभिवृद्धि गरेको छ । अरनिकोको कला निर्माणका विशिष्ट शैलीले गर्दा उनलाई सम्राट् कुब्ला खाँको अत्यन्त निकट शक्तिशाली व्यक्तिका रुपमा महत्व दिइएको थियो । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपछि दुवै मुलुकको सम्बन्ध पारस्परिक हितका आधारमा विस्तारित भई एकापसमा सहयोग सद्भाव आदानप्रदानमा केन्द्रित देखिन्छ ।

विभिन्न कालखण्डमा नेपालको विकास र समृद्धिका लागि निर्माण भएका विभिन्न परियोजनामा चीनले सहयोग गरेको पाइन्छ । बौद्ध साहित्यमा अध्ययन गर्नुपर्ने महत्वपूर्ण पाठ ‘पञ्चशील’ छ, त्यस सिद्धान्तका आधारमा दुवै देशबीच सन् १९६० अप्रिल २८ मा नेपाल चीनबीच शान्ति तथा मैत्री सन्धि भएको थियो । सन् १९६० मा चीनमा सांस्कृतिक क्रान्ति हुँदा पनि बौद्ध मन्दिर तथा प्राचीन सम्पदाको संरक्षण भने भइरह्यो । ‘बुद्धको पहिलो घर नेपाल तथा दोस्रो घर चीन’ भनिन्छ ।

Tags: , , ,

प्रतिक्रिया दिनुहोस