बाढीपीडितलाई पुनर्वासको व्यवस्था हुन्छ : मन्त्री थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाढीपीडितलाई पुनर्वासको व्यवस्था हुन्छ : मन्त्री थापा


१५ आश्विन २०७६, बुधबार


गलेश्वर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएकी छन् ।

संघीय सरकारका तर्फबाट रु दुई लाख बाढीपीडितलाई आज प्रदान गर्दै मन्त्री थापाले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई सक्दो सहयोग गर्नु मानवीय कर्तव्य भएको बताइन् ।

मन्त्री थापाले बाढीका कारण घरवारविहीन भएका सात घरपरिवारलाई उचित स्थानको खोजी गरी छिटो पुनर्वासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिइन् । बाढीका कारण विस्थापित भएका सात घरपरिवारमध्ये ६ परिवार स्थानीय सरस्वती आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् भने एक जना छोरीज्वाइँकामा बसेका छन् ।

असोज ४ गते राति कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिकाको मृत्यु भएको थियो । एक बालिकाको शव प्राप्त भएको र एक बालिका अझैसम्म पत्ता लाग्न नसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिइन् । बाढीका कारण बुद्ध एकेडेमीका १६ वटा कोठा पूर्णरुपमा क्षति पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस