कृषि बाली बीमाको व्यवस्था गरिएको छ : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृषि बाली बीमाको व्यवस्था गरिएको छ : मुख्यमन्त्री पौडेल


८ आश्विन २०७६, बुधबार


चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उनले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताए ।

प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उनले किसानका समस्या धेरै रहेको बताए । उनले भने, ‘किसानको समस्या धेरै छन् कहिले प्रकृतिको कारणबाट कहिले बीउबिजनको कारणले क्षति हुने गरेको छ । त्यसको समाधानको लागि पनि सरकारले बाली बीमाको व्यवस्था गरेको छ ।’

व्यावसायिक कृषि गर्नेलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको बताउँदै उनले अब निर्वाहमुखी कृषिकोभरमा बस्न नहुने सुझाव दिए । प्रदेश सरकार बनेको छोटो समय भएको भन्दै उनले देखिने गरी काम गरिसक्न नपाएको बताए।

सयौं वर्षको इतिहास बोकेको संघीय सरकारका अगाडि दुई वर्षको प्रदेशलाई तुलना गर्न नमिल्ने उनको भनाइ थियो । किसानलाई सरकारको आलोचना भन्दा सहकार्य गरेर लाभ लिन पौडेलले सुझाव दिए ।

सो अवसरमा केराखेतीको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएकोमा नेपाल टेलिभिजनका चितवन सम्बाददाता ईश्वर जोशी, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष कल्याण जोशीलगायतका व्यक्तिहरुलाई मुख्यमन्त्री पौडेलले दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले चितवनमा करीब–७ सय किसानले तीन हजार बिगाहामा केराखेती गर्दै आएको र वार्षिक रु एक अर्ब ५० करोडको केरा उत्पादन हुने गरेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, उद्योग वाणिज्य महासंघका सदस्य कल्याण जोशी, संघका पूर्व अध्यक्षद्वय लक्ष्मण सुवेदी र कृष्णहरि पन्त लगायतले बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस