बाँकेमा समुदायसँग मिलेर दशैँ मनाइने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाँकेमा समुदायसँग मिलेर दशैँ मनाइने


८ आश्विन २०७६, बुधबार


नेपालगञ्ज । हिन्दूहरुको महत्वपूर्ण पर्व दशैँको बाँकेमा छुट्टै विशेषता छ । यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन् ।

समुदाय मिलेर टोलटोलमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने पुरानो परम्परा अद्यापि कायमै छ । टोलको सौन्दर्यकरण गरेर नवदुर्गाको मूर्ति स्थापना गरी श्रद्धालु भक्तजनद्वारा दशैँ अवधिभरि विधिवत् पूजाअर्चना हुने गर्दछ । यसरी राखिएको देवीका मूर्ति द्वादशीका दिन जिल्लाको राप्ती नदीमा विसर्जन गरिन्छ ।

नवदुर्गा भवानीको आकर्षक मूर्ति भारतबाट ल्याउने गरिएको छ । नेपालगञ्जका केही मूर्तिकारले पनि केही वर्षयता मूर्ति बनाउने गरेका छन् । नेपालगञ्जका मूर्तिकारलाई अहिले मूर्ति बनाउन भ्याइनभ्याइ छ । कलात्मक दुर्गा भगवतीको मूर्ति दशैँको करीब एक महीना अघिदेखि नै बनाउने गरेको मूर्तिकार बताउछन । मूर्तिकार अङ्कित मिश्रले ८० वटा मूर्ति बनाउने जिम्मा लिएको बताए ।

‘मूर्ति बनाउन समय धेरै लाग्ने भएकाले सक्ने जति मात्र जिम्मा लिने गरेका छौँ’, मिश्रको भनाइ छ ।
जिल्लाको गाउँबस्तीमा र नेपालगञ्जको टोलटोलमा राखिने नवदुर्गा भवानीको मूर्तिमा व्यक्तिगत र सामूहिक पूजापाठ, यज्ञ, होमलगायत नवरात्रि विशेषका कर्मकाण्ड हुने पण्डित भीमप्रसाद आचार्य बताउछन् ।

यो जिल्लामा दशैँको अर्को विशेषतामा नवरात्रि (घटस्थापना) देखि रामलिला मञ्चन गर्नु पनि हो । भगवान् रामको जीवन चरित्रमा आधारित रामलिला दशैँको टीकाका दिन रावणको बध गरेर समाप्त हुने गर्दछ । रामलिला प्रदर्शनका लागि रामलिला व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ । सो समितिले श्रद्धालु भक्तजनबाट चन्दा सङ्कलन गरेर रामलिला आयोजना गर्दै आएको समितिका कार्यवाहक अध्यक्ष सन्तोष कनोडियाले बताए ।

यसैगरी, पर्वमा सामाजिक सद्भाव कायम राख्न सक्नु बाँके जिल्लाको अर्को विशेषता पनि हो । दशैँमा धार्मिक सद्भाव कायम गर्न नेपालगञ्जका हिन्दू, मुस्लिम, सिख र इसाइ धर्मगुरुले सबैमा अपिल पनि गरेका छन् । स्थानीय प्रशासनले पनि दशैँका लागि सुरक्षा व्यवस्था सुदृढ बनाएको दाबी गरेको छ ।

आम नेपाली उपभोक्तालाई ध्यानमा राखेर नेपालगञ्जमा सस्तो बजार पनि सञ्चालनमा ल्याइने गरिएको छ । ‘यो वर्ष पनि व्यापारीका विभिन्न संस्थासँग मिलेर नेपालगञ्जमा दशैँ सस्तो बजार खोल्ने तयारी गरिएको छ’, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले भने ।

दशैँ नजिकिएसँगै यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई व्यवस्थित गर्न थालिएको छ । मन्दिर आउजाउ गर्ने पश्चिम र पूर्वतर्पmको दुवै बाटोलाई फराकिलो बनाइएको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले मन्दिर बाहिरका पसलको समेत उचित व्यवस्थापनको काम शुरु भइसकेको बताए । उनका अनुसार, मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ ।

सतिदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगी बताउछन् । ‘माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेको मनोकामना पूरा हुँदै आएको छ’, उनले भने । बागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुला दर्शन गर्न पाउने व्यवस्था पनि मिलाइएको छ ।

दशैँका बेला बाँके जिल्लाका विशेषतः मधेशी समुदायका व्यक्तिले बागेश्वरी माताबाट आफ्नो मनोकामना पूरा गराउन जिब्रो छेड्ने गर्दछन् । सङ्कल्प गरेकाले जिब्रो छेड्ने गरेको मूल महन्त योगीले बताए ।रासस

प्रतिक्रिया दिनुहोस