हाम्रै पालामा समृद्धि : भट्टराई « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हाम्रै पालामा समृद्धि : भट्टराई


६ आश्विन २०७६, सोमबार


सिन्धुली । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन् ।

आज सिन्धुलीमाढीमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताए ।

‘अहिलेको सरकार र नेपाली कांग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन’, उनले भने, ‘तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्रल्याई देशलाई समृद्ध बनाउँदैछौं ।’ चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पुर्‍याइने उनको भनाइ थियो । ‘संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन’, अध्यक्ष भट्टराईले भने ।

क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उनको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताए ।

समाजवादीका वरिष्ठ नेता अशोक राईले अहिलेको सरकारले विकास बजेटसमेत खर्च गर्न नसकेको बताए । पार्टीका महासचिव गङ्गानारायण श्रेष्ठले समाजवादी पार्टीलाई जनताले देशको वैकल्पिक शक्ति हैन पहिलो शक्तिको रुपमा देख्न चाहेको बताए ।

सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय समाजवादी पार्टी जिल्ला कार्यसमिति गठन गरिएको छ । समितको अध्यक्षमा मोदनाथ लिमल्सिना, उपाध्यक्षमा विष्णुबहादुर सुनुवार, सानी श्रेष्ठ र भरत योञ्जन, सचिवमा टीका घिसिङ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सहसचिवमा छविलाल श्रेष्ठलाई चयन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस