मनास्लुमा आरोहीको ओइरो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनास्लुमा आरोहीको ओइरो


३० भाद्र २०७६, सोमबार


काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् ।

यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् ।

विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् ।

त्यस्तै धौलागिरि हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस याममा हिमाल आरोहणबाट हालसम्म रु तीन करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए । आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस