संसदीय टोलीद्वारा म्याग्दी कारागारको अनुगमन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसदीय टोलीद्वारा म्याग्दी कारागारको अनुगमन


३० भाद्र २०७६, सोमबार


गलेश्वर । गण्डकी प्रदेशको संसदीय टोलीले बेनी नगरपालिका–२ खबरास्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । २५ पुरुष र सात महिला गरी कूल ३२ जनाको क्षमता रहेको म्याग्दी कारागारमा हाल ९३ पुरुष र सात महिला गरी १०० कैदीबन्दी रहेका छन् ।

प्रदेश मामिला समितिका दीपक थापाको संयोजकत्वमा आइतबार चिन्ताबहादुर घले, विनोद केसी र कोपिल बोहोराको टोलीले कारागारको भौतिक अवस्था अनुगमन गरी त्यहाँको समस्या तथा वस्तुस्थितिको बारेमा जानकारी लिएको हो । अनुगमन टोलीसँग कैदीबन्दीले भौतिक पूर्वाधारको कमी, शौचालयमा पालो पर्खनुपर्ने र खानेपानीको नियमित आपूर्ति नहुने समस्या रहेको बताएका थिए ।

व्यवस्थित खेलमैदान र खेल सामग्रीको आवश्यकता, कैदीबन्दीले तयार पारेका मुढा, फर्निचर र हस्तकलाका सामानको बजारीकरणको समस्याका बारेमा कैदीबन्दी कमल पुर्जाले अनुगमन टोलीलाई जानकारी गराउनुभएको म्याग्दी कारागारका प्रमुख रोजेन्द्र शर्माले जानकारी दिए । कैदीबन्दीले निःशुल्क कानूनी सहायताअन्तर्गत वैतनिक वकिलको सुविधा नपाएको समेत गुनासो गरेका थिए ।

कागारारका प्रमुख शर्माले प्रशासनिक भवनको अभाव भएको र कारागार भवनको मर्मत तथा क्षमता विस्तारको आवश्यकता रहेको बताए । संसदीय टोलीका संयोजक थापाले प्रदेशका ११ वटै कारागारको स्थलगत निरीक्षण गरी सरकारलाई सुझाव दिइने बताए । कारागारमा पछिल्लो समय लागुऔषध, जर्बजस्ती करणी र ज्यान मार्ने उद्योगका कैदी र बन्दीको चाप बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस