मुख्यमन्त्री भट्टद्वारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री भट्टद्वारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन


२९ भाद्र २०७६, आइतबार


कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नजिकिँदै गरेका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वमा आइपर्ने सुरक्षासम्बन्धी गतिविधिलाई विशेष योजना बनाई कडाइका साथ लागू गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री भट्टले विशेषगरी चाडपर्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न भारतीय सीमा नाकामा हुने गरेको असहजता र प्रदेशभरिको सुरक्षालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए ।

चाडपर्वमा हुने गरेको कालाबजारी, अशान्ति, सीमा नाकामा हुने आपराधिक गतिविधिलगायतका विभिन्न अप्रिय घटना घटनुभन्दा पहिले नै उच्च सुरक्षा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस