थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता हुने


२९ भाद्र २०७६, आइतबार


काठमाडौं । थानकोट–नागढ्ङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता हुने भएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रुपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने भएको हो ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जनाएका छन् । उनले निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी) सँग सम्झौता हुने बताएका छन्  । बैङ्क ग्यारेन्टीसहितको प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ ।

सम्झौतामा नेपालका तर्फबाट सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र निर्माण कम्पनीका प्रमुखले हस्ताक्षर गर्ने तय भएको बताइएको छ । धादिङमा मुआब्जाको समस्या समाधान नहुँदा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ भएको थियो ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताए ।

विस्फोटक पदार्थ भारतबाट आयात गर्नुपर्ने र त्यसको प्रक्रियामा जाँदा कम्तीमा छ महिना लाग्ने छ । वास्तविक टनेल निर्माणको काम सुरु गर्न अझै छ महिना लाग्ने भए पनि त्यसभन्दा अगाडि ‘पहुँच बाटो’ निर्माणलगायतका तयारका कामहरू सुरु गरिने छन् भन्ने समाचार गोरखापत्रमा छ।

प्रतिक्रिया दिनुहोस