बिपी साहित्य सम्मान ‘बैरागी काइला’लाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बिपी साहित्य सम्मान ‘बैरागी काइला’लाई


२४ भाद्र २०७६, मंगलबार


काठमाडौं । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज यहाँ एक कार्यक्रमको आयोजनामा रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान उनलाई प्रदान गरेको हो ।

यसैगरी रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएकोे छ । दुवै सम्मान नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदान गरेका हुन् ।

कार्यक्रममा कांग्रेस नेता कोइरालाले बिपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बिपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न काङ्ग्रेस खरोरुपमा उत्रनुपर्ने उल्लेख गरे ।

गणतन्त्र र संघीयतालाई सम्बद्र्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाउँदै नेता कोइरालाले यसका लागि लोकतान्त्रिक शक्ति र नागरिक समाज जुर्मुराउने बेला आएको बताए । सरकारले संसद्मा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै उनले यसमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले बिपी कोइरालाबाट आफूले असल बन्नुपर्छ भन्ने र असल काम गर्ने प्रेरणा पाएर सोहीअनुसार अघि बढेको बताए । राजनीतिक विश्लेषक डा. हरि शर्माले बिपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्दै मुलुकमा भ्रष्टाचार, महङ्गी र असुरक्षा बढ्दासमेत कांग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार बैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डा. सुरेश चालिसे, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्रा अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बिपीले मुलुकका लागि गरेको राजनीतिक र साहित्यिक योगदानको चर्चा गरेका थिए ।

ट्रष्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको सिफारिस समितिले गत साउन १५ गते उक्त निर्णय गरेको थियोे । दुवै पुरस्कारहरु आज १०६ औँ बिपी जन्मजयन्तीको अवसर पारेर प्रदान गरिएकोे हो ।

यसअघि २०७१ सालमा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशम्शेर थापा र सेनानी सम्मान नूतन थपलियालाई, २०७२ सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।

यसैगरी २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना तथा सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो । विसं २०७४ मा साहित्य सम्मान प्रा डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो भने २०७५ सालमा साहित्य सम्मान साहित्यकार रोचक घिमिरे र सेनानी सम्मान स्व चक्रप्रसाद बाँस्तोलालाई प्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस