धान उत्पादन वृद्धि हुने अनुमान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धान उत्पादन वृद्धि हुने अनुमान


१४ भाद्र २०७६, शनिबार


बैतडी । यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा १७ हजार १९० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्दका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । गत वर्षभन्दा १५ प्रतिशत तथा दुई हजार ५०० मेट्रिक टन उत्पादन बढी हुने अनुमान गरिएको उनले बताए ।

यो वर्ष उन्नत जातको धानको बीउ वितरण गरी प्रयोगमा ल्याइएकाले धान उत्पादन बढी हुने अनुमान गरिएको चन्दको भनाइ रहेको छ । यसका साथै समय समयमा वर्षासमेत भइरहेकाले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । यसैबीच जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ ।

वर्षमा तीन खेती गर्ने महाकाली र चमेलिया किनारलगायतका बेँसी क्षेत्रमा यो हप्ता मात्रै रोपाइँ सम्पन्न भएसँगै जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थान, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीका पकेट क्षेत्र हुन् । जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस