डा.केसी सुटुक्क डोटीमा, हाँस्दै भने-सम्भवतः साँझ डडेलधुरा बास बस्छु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा.केसी सुटुक्क डोटीमा, हाँस्दै भने-सम्भवतः साँझ डडेलधुरा बास बस्छु


११ भाद्र २०७६, बुधबार


डोटी । डा.गोविन्द केसी सुदूरको भ्रमणमा सुटुक्क डोटी जिल्लामा आइ पुगेका छन्  ।

मङ्गलवार साँझ डोटी पुगेका डा. केसीले सोही साँझ नै प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरको दर्शन गर्दै बजारको चक्कर काट्न पनि भ्याई सकेका थिए ।

सानो झोला काँधमा भिरेका केसीलाई बजारमा धेरैले देखे र डा. केसी जस्तै मान्छे भन्दै चर्चा पनि गरे । टेलिभिजनको पर्दामा पटक पटक देखिइरहने केसीलाई धेरैले केसी जस्तै अनुहार माने तर कसैले यकिन गर्न सकेनन् ।

तिनै डा. केसी बुधवार बिहान डोटी जिल्ला अस्पतालको प्रतिक्षालयमा एक वृद्धको स्वास्थ्य अवस्था बुझ्दै गरेका भेटिए । बिहानै शैलेश्वरीको दर्शन गरी उनले जिल्ला अस्पतालको अवस्था नियाले । अस्पतालमा भेटिएका व्यक्तिहरूसँग भलाकुसारी गरे । काँधमा सानो झोला, हल्का निलो रङ्गको भेष्ट, जिनको पाइन्ट र खुट्टामा कालो रङ्गको स्पोर्ट जुत्ता । हेर्दा अति नै साधारण देखिने व्यक्तिका रूपमा रहेका केसीको डोटी यात्राको बारेमा सञ्चारकर्मीहरूले जान्न चाहे तर केसीले त्यसमा खुलेर बोल्न चाहेनन् ।

‘काठमाडौँको धुलो धुवा कति खाइरहने ? यसो पहाडतिर आएपछि स्वच्छ हावापानी त पाइन्छ नि !’ सञ्चारकर्मीहरूसँग गफिँदै उनले भने, ‘यस्तो वातावरणमा बस्न पाए त दुई दिन भए पनि आयु लम्बिन्छ नि !’ यसबाहेक अरू केही नभएको उनले बताए । गफ गर्दा गर्दै उनी उठे  र भने, ‘आज म सञ्चारकर्मी साथीहरूसँग अन्तरक्रिया गर्ने पक्षमा छैन,’ उनी जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्रसँगै अस्पतालको अनुगमनमा लागे ।

उनले आफू मङ्गलवार सिलगढी पुगेको र आजै डडेलधुराका लागि जाने सङ्केत गरे । ‘निश्चित त केही छैन, उहिले पो हिँडेर जानु पर्ने हुन्थ्यो र चिन्ता हुन्थ्यो,’ डा.केसीले हाँस्दै भने, ‘अचेल जा निर पनि गाडी पाउँछ, सम्भवतः साँझ डडेलधुरा बास बस्छु ।’उनले डोटी जिल्ला अस्पतालको अवस्था पनि देशका अन्य सरकारी स्वास्थ्य संस्थाको अवस्था जत्तिकै रहेको प्रतिक्रिया दिए । तर, उनले आफू किन डोटी आएको भन्ने कुरा भने खुलाएनन् । न त स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालको कुनै औपचारिक कार्यक्रममा उनी आएका थिए न ही उनले आफू आउनेबारे कसैलाई जानकारी दिएका थिए ।

केही वर्ष पहिले आफू जिल्ला सदरमुकाम सिलगढी बजारमा आउँदा चहलपहल राम्रो रहेको तर अचेल बजार मुर्झाएकोप्रति उनी चिन्तित बने । ‘म खप्तड जानका लागि केही वर्ष पहिले आएको थिएँ,’ केसीले भने, ‘त्यति बेला त बजारमा भिडभाडै देखिन्थ्यो तर अचेल त सुनसान पो भएछ ।’ बजारको चहल पहल बढाउनका लागि पर्यटकीय विकासका ध्यान दिनु पर्ने केसीको धारणा छ ।

जिल्ला अस्पताल पुग्दा उनले अस्पतालको वस्तुस्थिति, बिरामीहरूको अवस्था नियालेको र सामान्य रूपमा यहाँको जनस्वास्थ्यको सवालमा कुराकानी गरेको निमित्त मे.सु. मिश्रले बताए। ‘उहाँले अस्पतालको वस्तुस्थिति, भौतिक पूर्वाधारको अवस्था र मेडिकल पूर्वाधारहरू नियाल्नुभयो,’ उनले भने, ‘यसबाहेक केही बिरामीहरूलाई हेर्दै सामान्य कुराकानी गर्नु भएको भो’ डा. भूषण मिश्रले भने। हिजो र आजको डोटी बसाईकन क्रममा स्थानीय बासीहरूसँग भेटधाटमा डोटीको स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ पनि गरिरहेका छन् ।

डा. केसी लामो समयदेखि चिकित्साक्षेत्रको सुधारको माग गर्दै सङ्घर्ष गर्दै आई रहेका छन्। उनले आफ्नो सङ्घर्षका क्रममा दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका छन्। जसमा उनले सुदूरपश्चिमको डोटी–डडेलधुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान राख्दै आएका थिए ।

१५ औँ अनशन तोड्दा सरकारसँग २०७५ साउन १० गते ‘डोटी–डडेलधुरामा मेडिकल कलेजको सम्भावना अध्ययन’ गर्ने भनिएको थियो। त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिए पनि एक वर्ष बित्दा पनि कार्यान्वयन भने भएको छैन । त्यसैले पनि डा.केसीको सुदूरपश्चिम भ्रमण यस कारण भएको हुन् सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस