गुल्मी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान अवस्थामा संघीयता कार्यान्वयन प्रक्रिया सफल रुपमा अघि बढेको बताएका छन् । उनले प्रदेश सरकारले सुधारका प्रक्रिया अघि बढाएकामा त्यो नरुचाउनेले संघीयताको विरोध गरेको बताए ।
नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आफूहरु यतिबेला सङ्घीयता कार्यान्वयनको सङ्घारमा हिँडिरहेको बताए । संविधानको मूल मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री पोखरेलले गत वर्ष प्रशासनिक संरचना निर्माणमा ढिलाइ भए पनि विकास निर्माणका हिसाबले प्रदेश नं ५ पहिलो स्थानमा रहेको दाबी गरे ।
‘सङ्घीयता अघि आर्थिक वृद्धिदर चार प्रतिशत मात्र थियो, गत वर्ष ७.१ प्रतिशत पुग्यो, पहिलेको तुलनामा धेरै राम्रो तरिकाले अघि बढिरहेका छौँ’, उनले भने। प्रदेशको नाम र मुकामको विषयमा समिति बनाएको र त्यसले प्रारम्भिक तहको अध्ययन गरी विज्ञहरुलाई रायका लागि पठाएको उनले बताए । मुख्यमन्त्री पोखरेलले आजै विपद् व्यवस्थापन सूचना केन्द्र रिडीमा जडान गरिएको साइरन प्रणालीको समेत उद्घाटन गरी रुरु क्षेत्रको बारेमा जानकारी लिएका थिए ।