‘सिकलसेल’ उपचारमा स्थानीय सरकार सक्रिय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘सिकलसेल’ उपचारमा स्थानीय सरकार सक्रिय


९ भाद्र २०७६, सोमबार


घोराही । गत असारको दोस्रो सातामात्रै घोराही उपमहानगरपालिकाले सिकलसेल उपचारका लागि निःशुल्क शिविरको आयोजना गर्‍यो । घोराहीको रामपुर, सौडियार र नारायणपुरमा गरिएको शिविरमा ५३ व्यक्तिमा सिकलसेल एनिमिया (हँसिया रक्तकोष रोग)का जीवाणु भेटिए । उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तीका अनुसार शिविरमा ३४३ जना शङ्कास्पद व्यक्तिको रगत परीक्षण गरिएको थियो ।

शिविरमा सिकलसेलको लक्षण पुरुषभन्दा धेरै महिलामा देखिएको थियो । सङ्ख्याको आधारमा भन्दा पनि पोजेटिभ जीवाणु भेटिएका महिलाको सङ्ख्या ४१ र पुरुषको सङ्ख्या १२ रहेको थियो । त्यसमा पनि २० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिमा सिकलसेलको लक्षण बढी देखा परेको थियो । उपमहानगरको स्वास्थ्य शाखाले सिकलसेलका बिरामीको प्रारम्भिक जाँच गराएको र थप उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने तयारी पनि छ ।

यसभन्दा अगाडि जिल्लाका विभिन्न ठाउँमा करीब सयभन्दा बढीमा यस रोगका बिरामी भेटिएका छन् । विशेष गरी जिल्लामा भेटिएका सिकलसेल एनिमियाका रोगीलाई उपमहानगरपालिकाले रक्त सञ्चार केन्द्रको स्थापना गरी निःशुल्क रगत उपलब्ध गराउने, उनीहरुका लागि रोजगार र आयआर्जका कार्यक्रम सञ्चालन गर्ने एवम उपचार खर्च व्यहोर्नेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममै उल्लेख गरेको छ ।

यस्तै विगत दुई वर्षदेखि गढवा गाउँपालिकाले पनि सिलकसेलका बिरामीको निःशुल्क जाँचको व्यवस्था शुरु गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलका अनुसार जाँच शुरु गरेदेखि हालसम्म आठ जना सिलसेलका बिरामी भेटिएका छन् ।

उनीहरुलाई गाउँपालिकाले रु १० हजार र सरकारले दिने अनुदानका लागि सिफारिस दिँदै आएको छ । वडा नम्बर ७ ले पनि जाँचका लागि आएका प्रत्येक बिरामीलाई रु १० हजारसहयोग गर्दै आएको छ ।

संयोजक पौडेलले चालू आर्थिक वर्षमा गाउँपालिकाका विभिन्न ठाउँमा सिकलसेल उपचारका लागि शिविर राख्ने तयारीसमेत भएको जानकारी दिए । राजपुर गाउँपालिकामा पनि चालू आर्थिक वर्षदेखि सिकलसेलका बिरामीको जाँच शुरु गर्न लागिएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखाका कमल रोकायका अनुसार जाँचका लागि एक जना ल्याब असिस्टेन्टलाई निःशुल्क तालीमसमेत दिइसकिएको छ भने जाँचका लागि यन्त्र भित्र्याइएको छ । दुई चार दिनभित्र जाँचको प्रक्रिया थालिने उनले बताए । दङ्गिशरण गाउँपालिकामा पनि सिकलसेलबारे सचेतनाको काम हुँदै आएको छ ।

जटिल रोगको सूचीमा राखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि संघीय सरकारले समेत प्रतिव्यक्ति रु एक लाख बराबरको उपचार निःशुल्क दिँदै आएको छ । सामान्यतया जीवित प्राणीका रक्तकोष गोलाकार हुन्छन् । स्वभावैले मानिसका रक्तकोष पनि गोलाकार नै हुन्छन् ।

तर सिकलसेल एनिमिया भनेको रक्त कोषलाई हँसिया जस्तो आकारमा बदलेर व्यक्तिलाई पीडा दिने रोग हो । जसले मानिसको रक्तकोषलाई अर्धगोलाकार अर्थात हँसिया आकारको बनाइदिन्छ ।

विभिन्न अध्ययन र चिकित्सकहरुको भनाइमा जब शरीरका रक्तकोष बाङ्गो र लाम्चो बन्दै जान्छन् तब शरीरमा अत्यधिक दुखाइ शुरु हुन्छ । रक्तकोषले आकार परिवर्तन गर्दै जाँदा छाती, हात खुट्टाका औँलामा अत्यधिक दुखाइ हुन्छ ।

ज्वरो आउने, धड्कन बढ्ने र व्यक्तिलाई थकानको महसुस हुन्छ । विकलाङ्ग रक्तकोषिका कै कारण रक्तअल्पता, कमलपित्तजस्ता रोग देखिने, शारीरिक विकासमा अवरोध देखिने, घाउ देखापर्ने, पक्षघात हुनेलगायत समस्या देखा पर्छन् ।

लामो समयदेखि सिकलसेल एनिमियाका बिरामीको उपचारमा खटिनुभएका घोराहीका डा।प्रभाष रिजालका अनुसार सिकलसेलको निदान गर्न समय र आर्थिक खर्च धेरै लाग्छ ।

‘हँसिया रक्तकोष पत्ता लगाउन छाला, रगत र हेमोग्लोबिनको जाँच गर्नुपर्छ’, उनले भने, ‘एउटा व्यक्तिको जाँच गर्न कम्तीमा आधा घण्टा लाग्छ र जाँच गर्ने यन्त्र पनि निकै महङ्गो पर्छ ।’ त्यस्तै यस रोग लागेको व्यक्तिलाई निको पार्नका लागि बोन म्यारो प्रत्यारोपण गर्नुपर्छ । जुन निकै जोखिमपूर्ण र नेपालमा सम्भव नहुने उनी बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस