थारुवान् सम्मेलन शान्तिपूर्ण बनाउन बसेको सर्वदलीय बैठक सम्पन्न-यस्ता छन् ७ बुँदे निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थारुवान् सम्मेलन शान्तिपूर्ण बनाउन बसेको सर्वदलीय बैठक सम्पन्न-यस्ता छन् ७ बुँदे निर्णय


४ भाद्र २०७६, बुधबार


काठमाडौँ । टिकापुरमा आयोजना हुन लागेको थरुहट थारुवान् राष्ट्रिय सम्मेलनलाई शान्तिपूर्ण र सद्भाव कायम गर्न डाकिएको सर्वदलीय बैठकले विभिन्न सात बुँदे निर्णय गरेको छ ।

२०७२ भदौ ७ गते टीकापुर घटना भएकै दिन पारेर भदौ ७, ८ र ९ गते थरुहट थारुवान् सङ्घर्ष समितिले आयोजना गर्न लागेको सम्मेलनको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालय कैलालीले सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकले जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न जिल्ला स्थित सबै राजनीतिक दल र आयोजकले स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णय भएको छ ।
आयोजकले सम्मेलन शान्तिपूर्ण र सामाजिक सद्भाव कायम गर्ने गरी सम्पन्न गर्न कार्यक्रममा सहभागीहरूलाई पहिचान खुल्ने प्रवेश पासको व्यवस्था गर्ने र कार्यक्रममा सहभागीहरूलाई सोही प्रवेश पासको आधारमा कार्याक्रम स्थलमा सुरक्षा चेक जाँच गरेर मात्र प्रवेश गराउने तथा आयोजकका तर्फबाट स्वयंसेवक खटाउँदा सुरक्षा निकायसँग समन्वय गरेर मात्र परिचालन गराउने निर्णय भएको छ ।

त्यस्तै कार्यक्रममा सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा असर पर्ने गरी कार्यक्रम अवधि भर कुनै किसिमको नारा, जुलुस, वक्तव्य र सम्बोधन नगराउने, कार्यक्रम अवधिभर टिकापुर नगरपालिकाभित्र मदिराको विक्रिवितरण, ओसारपसार र सेवनमासमेत पूर्ण निषेध गर्ने निर्णय भएको छ ।

त्यस्तै कार्यक्रम स्थल आसपासको क्षेत्र र बजार एरियामा लाठी, घरेलु हतियार, हातहतियार बोक्न, प्रयोग गर्न तथा प्रदर्शन गर्ने जस्ता कार्य नगर्ने तथा त्यस्ता क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने सहमति भएको छ ।

र, शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले सुरक्षाका सबै उपायहरू अवलम्बन गर्ने निर्णय भएको छ ।

थारु अतिथिलाई अन्य समूदायका मानिसहरुको घरमा बास बसाएर सद्भावको सन्देश दिने बताईको उक्त सम्मेलनको पहिलो दिन भदौ ७ गते उद्घाटन समारोह, दोस्रो दिन भदौ ८ गते छलफल र तेस्रो दिन भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।

थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस