सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छाडिँदैन : उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छाडिँदैन : उपप्रधानमन्त्री पोखरेल


३ भाद्र २०७६, मंगलबार


काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उनले काठमाडौँमा अधिकांश खाली ठाउँ मासिनु दुःखद् पक्ष भएको बताए ।

‘सार्वजनिक जग्गा मास्ने नेकपाकै नेता कार्यकर्तालाई पनि हामी जोगाउँदैनौँ’, उनले भने, ‘त्यस्ता व्यक्तिलाई पार्टीले कारवाही गर्छ ।’ उपप्रधानमन्त्री पोखरेलले मन्दिर बनाउने बहानामा खाली ठाउँ मास्ने क्रम अझै नरोकिएको बताए ।
उनले सरुवा र बढुवाका काम लिएर आफूसँग नआउन आग्रह गर्दै विकास निर्माणका कामका लागि आफू जति बेला पनि तयार रहेको बताए ।

उनले जनप्रतिनिधिले पार्टीसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने भन्दै छिटो, छरितो र प्रभावकारी सेवा प्रदानमा ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री पोखरेलले क्षेत्र नं ५ को विकासका लागि सबै जनप्रतिनिधिबीच एकता र समन्वयको खाँचो रहेको औँल्याए । उनले कानूनको अभावमा संघ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकारको क्षेत्रमा अलमल देखिए पनि कानूनले पूर्णता पाएपछि छिट्टै समस्या हट्ने बताए । विकास निर्माणमा बाधक बनेको सार्वजनिक खरीद ऐनलाई बदल्न लागिएको भन्दै उनले ऐन संशोधन गरेपछि विकास निर्माणका काममा हुने गरेका अवरोध हट्ने विश्वास दिलाए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा एकीकृत विकासको योजनालाई अघि सारिएको बताए । ‘उपत्यकाको विकासका साझा एजेण्डालाई पहिचान गर्दैछौँ’ उनले भने, ‘उपत्यका नगरपालिका फोरम बनाएर काम गर्दैछौँ, त्यसको नेतृत्व मैले गरेको छु ।’ पाँच वर्षमा हुने विकासलाई एकै वर्षमा देख्न खोजेर नहुने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य नारायण सिलवालले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा विकास निर्माणका काम प्रभावित भएको बताए । प्रदेशसभा सदस्य दीपक निरौलाले वर्तमान सरकारबाट नागरिकले धेरै आशा गरेको बताए ।

कार्यक्रममा जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा विकास निर्माणमा भएको प्रगति तथा समस्याबारे आफ्नो धारणा राखेको थियो । कार्यक्रममा बूढालीनकण्ठ नगरपालिकाका प्रमुख उद्धवबहादुर खरेल, उपप्रमुख रमा राई, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल, काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष मोहन विष्ट, ३ का वडाध्यक्ष दीपक केसी, बूढालीकण्ठ–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, ५ का वडाध्यक्ष विजय तामाङ, ७ का वडाध्यक्ष वसनारायण महर्जन, टोखा–४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, ५ का वडाध्यक्ष जगन्नाथ ढकाल, ७ का वडाध्यक्ष नरोत्तम रानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस