एकल महिलाद्वारा गाउँमै रोजगारीको व्यवस्था « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एकल महिलाद्वारा गाउँमै रोजगारीको व्यवस्था


३ भाद्र २०७६, मंगलबार


तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित मोचाबारीकी एकल महिला सेतीमाया विश्वकर्माले गाउँका ११ एकल महिलालाई रोजगारी दिएकी छन् । २८ वर्षको उमेरमा एकल महिला बनेकी सेतीमायाले शिव नर्सरी फार्म स्थापना गरेर उनीहरुलाई गाउँमै रोजगारीको व्यवस्था गरेकी हुन् ।

सेतीमायाले आफ्नै नाममा रहेको करीब तीन रोपनी क्षेत्रफल जग्गामा नर्सरी स्थापना गरी कफी, आँप, कागती, एभोकाडो (नौनी फल) लगायतका बिरुवा उत्पादन गर्दै आएकी छन् । “करीब तीन वर्षको अवधिमा फल दिन शुरु गर्ने जातका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएकी छु”, उनले भनिन्, “प्रतिबिरुवा २०० मा बिक्री गर्छु ।”

कफीका ४० हजार बोटमध्ये १० हजार बिक्री भइसकेका छन । उत्पादन गरेको आठ हजार एभोकाडोका बिरुवा सकिएका छन् भने आँप र कागतीका केही बिरुवा बाँकी छन् । एकल महिलाले नर्सरीमा बिरुवा उत्पादनका लागि पोलिब्यागमा माटो भर्ने, कफीका बिरुवा रोप्ने, माटो सङ्कलन गर्नेलगायतका काम गर्ने गरेका सञ्चालक सेतीमायाले बताइन् ।

विसं २०७६ वैशाखदेखि नर्सरी स्थापना गरेकी उनले विभिन्न जातका बिरुवा उत्पादन गरेर रोजगारी प्रदान गर्नुका साथै आफ्नो घरखर्च राम्रैसँग चलाउँदै आएकी छन् । शुरुमा एक लाखबाट नर्सरी स्थापना गरेकी उनले हालसम्म करीब तीन लाख खर्च गरिसकेको बताइन् ।

टिमुर, शितल चिनीलगायतका बिरुवा पनि उत्पादन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, “करीब ५० हजार बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरी रहेकाले अबको पालोमा बिरुवा उत्पादनमा वृद्धि गर्ने योजना बनाएको छु ।” विभिन्न स्थानमा पाइने बीउ नर्सरीसम्म ल्याइदिन अर्का नर्सरी सञ्चालक पुष्कर विश्वकर्माले सहयोग गर्दै आएको उनले बताइन् ।

गाउँपालिकाद्वारा अनुदान

घिरिङ गाउँपालिकाले नर्सरी सञ्चालक सेतीमायालाई एक लाख अनुदान सहयोग गरेको छ । उनले ५० प्रतिशत छुटमा एभोकाडोका बिरुवा उपलब्ध गराइएको बताइन् । ७५ गाउँपालिकाको र ७५ कृषकले व्योहोर्ने गरी ७०० बिरुवा उपलब्ध गराइएको छ ।

एभोकाडोको बिरुवाप्रति स्थानीयको आर्कषण बढ्दै गएको छ । तीन वर्षको अवधिमा फल्न शुरु गर्ने एभोकाडो रोटी तथा पाउरोटीमा जामको रुपमा प्रयोग गरी खान सकिन्छ । खेती गर्न सजिलो हुने एभोकाडोमा सबै प्रकारका भिटामिन प्रचुरमात्रामा पाइने हुनाले यसतर्फ मानिसको आकर्षण बढ्दै गएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस