सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण


२ भाद्र २०७६, सोमबार


वासिङ्टन । संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् ।

अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ । गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए । सर्वेक्षणमा २ प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए । करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन् ।

अर्थशास्त्रीहरुले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गर्नुभएको छ । उनले चीन, युरोपेली मुलुकहरु, मेक्सिको र क्यानाडाबाट आउने सामानमा कर बढाएका छन् । अमेरिकी अधिकारीहरुले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले प्रतिशोध स्वरुप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन् ।

विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीचको व्यापारमा नाटकीय रुपमा कमी आएको छ । राष्ट्रपति ट्रम्पले करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गरेको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन् ।

सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन् । करिब ५ प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन् जबकी ६४ प्रतिशतले सम्झौताको नाटक मात्र हुने बताएका छन् । करिब एक तिहाईले दुबै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन् ।

सर्वेक्षणमा कर्पोरेसन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थविज्ञका धारणा समेटिएको छ । यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो । रासस/एपी

Tags :
प्रतिक्रिया दिनुहोस