महत्त्वपूर्ण सात विषयगत प्रश्नोत्तर « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

महत्त्वपूर्ण सात विषयगत प्रश्नोत्तर


३२ श्रावण २०७६, शनिबार


१. नेपालको वनसम्पदाको महत्त्वबारे छोटकरीमा लेख्नुहोस् ।
उत्तर

“हरियो वन, नेपालको धन”

♦ वन ऐन अनुसार पूर्ण वा आंशिक रूपमा रुखले ढाकेको क्षेत्रलाई वन भनिन्छ । प्राविधिक भाषामा तीन मिटर भन्दा अग्ला वनस्पतिलाई रुख भनिन्छ । वास्तवमा वनस्पति, त्यहाँको जल जमिन र वन्यजन्तुहरूको एकीकृत समूह नै वन हो ।
♦ वनलाई कुनै पनि समाजको बाँच्ने आधार (लाइपm लाइन) का हिसाबले बुझ्न सकिन्छ ।राष्ट्रको विकास, समृद्धि र कल्याण स्वच्छ र हराभरा जङ्गलमा आधारित हुने गर्दछ ।
♦ वनसम्पदा विना जीवजगतको कल्पना पनि गर्न सकिँदैन । पारिस्थितिक पद्दति, मानवीय स्वास्थ्य, जलवायु सन्तुलन, देखी आर्थिक विकासका अनेक पक्षहरू वनसम्पदा सँग जोडिएका छन् । कुनै पनि वस्तुको उपयोगिताबाट नै त्यसको महत्त्व झल्किने हुँदा वनसम्पदाकोे प्रत्यक्ष र अप्रत्यक्ष उपयोगिताका आधारमा यसको महत्त्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
वनसम्पदाको प्रत्यक्ष उपयोगिताको आधारमा यसको महत्त्व :–
♦ इन्धनको स्रोत,
♦ पशुपालनका लागि आवश्यक पर्ने घाँस दाउरा,स्याउला प्राप्त गर्न,
♦ ग्रामीण कृषि उपकरण (हलो,कोदालो) एवं सवारी साधन देखी घर, दरबार आदीमा निर्माण सामाग्रीको रूपमा प्रयोग गर्न ,
♦ फर्निचरका सामाग्री निर्माण गर्न ,
♦ जंगली खाद्यान्न च्याउ, गिठा, कन्दमूल, फलफुल आदी प्राप्त गर्न,
♦ दुर्लभ जडीबुटी एवं काठको निकासी मार्फत विदेशी डलर आर्जन गर्न ।
वनसम्पदाको अप्रत्यक्ष उपयोगिताको आधारमा यसको महत्त्व :–
♦ आद्र वायुलाई चिस्याएर वर्षा गराउन सहयोग पुर्‍याउँछ ,
♦ पर्यटन व्यवसायलाई सबल बनाउन । जस्तैः चितवन रा.नि. वार्षिक लाखौँ पर्यटक भित्रिन्छन् ,
♦ वातावरण सन्तुलन राख्न ,
♦ स्वच्छ प्राणवायु(अक्सिजन)को प्रमुख स्रोत हो वनजंगल,
♦ वन्यजन्तुहरूको प्रमुख वासस्थान,
♦ अतिवृष्टि अनावृष्टि आँधिहुरी भु क्षय हुन नदिन,
♦ धार्मिक महत्त्व पनि रहेको छ । जस्तैः वेल,पिपल,दुबो,तुलसी आदी बिरुवाहरूको हिन्दु धर्ममा विभिन्न भगवानसंग सम्बन्धित भएकोले पूजा गरिन्छ ।

अन्त्यमा,वन सम्पदाको संरक्षण र सम्बद्र्धनका लागि राज्यले स्पष्ट दीर्घकालीन सोच सहितको नीति, रणनीति, कार्यनीति तथा ऐन कानुन तर्जुमा गरी कार्यान्वयन गरी वन क्षेत्रलाई राज्यले प्रमुख चासोको विषय बनाउने हो भने कार्बन व्यापारबाट लगायतका आयबाट वन स्रोतमा आश्रित गरिब, महिला, दलित तथा आदिवासी जनजातिहरूको जीविकोपार्जनमा सुधार र राष्ट्रको समृद्धि हासिल मार्फत मुलुकको प्रमुख प्राकृतिक साधनको रूपमा रहेको वनजंगलबाट अधिकतम फाइदा लिन सकिन्छ ।

२ .वैदेशिक रोजगारीको छोटो परिचय दिदैं यसमा विद्यमान समस्यारुको बारेमा लेख्नुहोस्
उत्तर

वर्तमान नेपाली युगको अर्थतन्त्रको रक्तसञ्चार
“जीवन निर्वाहका लागि पराई देशमा गएर कुनै पनि पेसामा आबद्ध हुनु”

♦ कुनै एक देशको नागरिकले आफ्नो देशको भौगोलिक सीमाभन्दा बाहिर सरकारले तोकेको मुलुकमा गएर गरिने शारीरिक अथवा मानसिक श्रम गर्ने कार्य वैदेशिक रोजगारी हो ।
♦ देशभित्रै रोजगारीका अवसरमा कमी हुनु तथा विदेशमा रोजगारीको अवसर बढी हुनु र आम्दानी पनि बढी हुनुका कारण वैदेशिक रोजगारीमा वृद्धि हुँदै गएको छ ।
♦ वैदेशिक भूमिमा आनो श्रम र पसिना सँग विदेशी मुद्रा विनिमय गर्ने एउटा प्रक्रिया जसलाई हाम्रो जस्तो रोजगारीको अवसर अत्यन्त न्यून भएको देशले रहर नभई बाध्यता रूपमा लिनुपरेको छ ।

वैदेशि रोजगारमा विद्यमान समस्याहरू
नेपालमा वैदेशिक रोजगारी व्यवस्थित तथा मर्यादित नहुँदा वैदेशिक रोजगारीका क्षेत्रमा थुप्रै व्यथितिहरु बढ्दै गएको छ । अझ भन्दा वैदेशिक रोजगारी एक किसिमले मान्छे बेची खाने संस्कृतिको रूपमा विकसित हुँदैछ । वैदेशिक रोजगारीमा संलग्न एजेन्सीहरूको अकर्म्डयता नेपाली मजदुरहरूको मृत्युको कारण सम्म बन्न पुगेको छ । एकातिर राज्य वैदेशिक रोजगारीबाट ठुलो आय आर्जन गरेको छ भने अर्कोतिर हरेक दिन कम्तीमा एउटा लास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लमा झर्ने गरेको छ । समग्रमा वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्याहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

  •  वैदेशिक रोजगारीलाई सुरक्षित र म¥यादित बनाउन नसकिएको,
  •  नेपालमा भएको सर्तअनुसार पारिश्रमिक नपाउने गरेको,
  •  अलेखबद्ध भई वैदेशिक रोजगारीमा जाने प्रवृत्ति,
  •  शारीरिक श्रम बढी गर्नु पर्ने ,
  •  अन्तर्रा्ष्टिय श्रमवजारको माग अनुरूप दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु,
  •  वैदेशिक रोजगारमा जाने महिलाहरू बेचबिखन तथा यौनशोषणमा पर्ने गरेको,
  •  समस्यामा परेका कामदारलाई उद्धार र पुनस्थापना गर्न नसकिएको,
  •  वैदेशिक रोजगारीमा ठगीको प्रवृत्ति बढेको,
  •  विप्रेषणबाट प्राप्त रकमलाई उत्पादनसिल क्षेत्रमा परिचालन गर्न नसकिएको,
  •  श्रमको लागी जाने देशहरूमा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग सूचना सम्पर्क स्थापित गर्न कठिनाइ पर्नु ।

निष्कर्ष : सरकारले वैदेशिक रोजगारसम्बन्धीमा सही नीति बनाइ, कार्यान्वयन गरी वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय मिलेर योजना र कार्यक्रम गर्नु पर्ने तथा नेपालीलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा नेपालका लागि बढी हितकर हुने देखिन्छ ।

प्रश्न नं. ३ दिगो विकासको परिचय दिनुहोस् ।
उत्तर

“भविष्यमुखी र वैज्ञानिक विकासलाई समेट्ने विकासको होलिस्टिक र डाइनामिक पक्ष ।”

✪ भावी पुस्ताको आवश्यकतासँग सम्झौता नगरिकन अहिलेको जीवनस्तरमा सुधार ल्याउनुपर्दछ भन्ने मान्यता नै दिगो विकास हो । यसले विकास र वातावरणको पारस्पारिकताको पक्षमा वकालत गर्दछ ।
✪ यसले गुणात्मक विकासको पक्षपोषण गर्दछ । पुस्तौँ पुस्तासम्म प्राकृतिक स्रोत साधनको समतामूलक उपयोग गरिनुपर्दछ भन्ने मान्यता राख्दछ साथै मानव जीवनको दीर्घकालीन हितलाई बढवा दिनुपर्दछ भन्ने कुरामा जोड दिन्छ ।
✪ यसले वर्तमान समयमा र भविष्यमा समेत प्राकृतिक स्रोत साधनको भण्डारण (नेचुरल स्टक ) मा कुनै कमी आउन नदिई मानव जीवनका सबै आवश्यकताहरूको पूर्तिका लागि कार्य गर्दछ ।
✪ वर्तमानमा उपलब्ध प्राकृतिक एवं जैविक स्रोतमाथि विकासका नाममा गरिने दोहनले भविष्यको पुस्तालाई असुरक्षित नबनाओस् भन्ने मान्यता दिगो विकासले राख्दछ ।
✪ दिगो विकास बहुआयाम मुद्दा हो , यो भविष्यपरक विकासको अर्को नाम हो , अन्तरपुस्ता समन्यायको कडी हो, यो पृथ्वीलाई सदैव सुरक्षित वासस्थान बनाउने अभियान हो ।
✪ दिगो विकास वर्तमान र भावी पुस्तालाई जोड्ने पुल को रूपमा रहेको हुन्छ । यो भावी पुस्ताप्रतिको चिन्ता र सरोकार हो । वर्तमान पुस्ताको दायित्वबोध हो ।
✪ भविष्यको उत्पादन बढाउनको लागि वर्तमानको मागमा बलिदान गर्ने,आर्थिक विकासको उच्चतम फाइदा लिने तर प्राकृतिक स्रोतको गुणलाई भरणपोषण गर्ने,भविष्यका लगानीको लागि वर्तमान उपभोगमा कटौती गर्ने,भावी सन्ततिका मूल्य र मान्यता र प्राथमिकताको पूर्वानुमान वर्तमानमा नै गर्ने कार्य यसले गर्दछ ।

प्रश्न नं ४. नेपालमा पर्यटन विकासको महत्त्व औँल्याउनुहोस् ।

अतिथि देवोः भव”
♦ देशको प्राकृतिक,सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक विशेषताको अवलोकन गर्न आउने,घुम्न आउने,सेयर गर्न आउने मानिसहरूलाई खाना,वासस्थान मनोरञ्जन आदीको व्यवस्था मिलाउने व्यापारिक क्रियाकलापहरूको समष्टिलाई पर्यटन भनिन्छ ।
♦ पर्यटन एकमात्र प्रदूषणरहित उद्योग हो जसले अर्थतन्त्रमा थुप्रै सकारात्मक असरहरूको सृजना (ीबचनभ कगm या एयकष्तष्खभ बलम भ्हतभचलबष्तिष्भक) गर्दछ । पर्यटनको आधारभूत विशेषता वा सौन्दर्यता नै प्रदूषणरहित, तत्काल प्रतिफल दिने, निरन्तर रूपमा प्रतिफल दिइरहने उच्च कोटिको व्यवसाय हो । बुँदागत रूपमा पर्यटनका महत्त्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
➥ रोजगारी वृद्धि गरी गरिबी निवारणमा प्रत्यक्ष सहयोग पुग्ने भएकाले,
➥ कम लगानीमा बढी प्रतिफल प्राप्त हुन सक्ने,
➥ वैदेशिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने,
➥ विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत भएकोले,
➥ अन्तर्रा्ष्टिय जगतमा नेपाललाई चिनाउन सहयोग पुग्ने भएकाले,े
➥ हवाई व्यवसाय विस्तार हुने,
➥ कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न,
➥ स्वदेशी कला संस्कृतिको विश्व बजारमा प्रचार प्रसार गरी बढी लाभ लिन सकिने,
➥ दिगो र समावेशी विकास गर्न ।

निष्कर्ष : मनोरम प्राकृतिक सौन्दर्य, अतुलनीय सांस्कृतिक सम्पदा एवं अनगिन्ती विशिष्टताका कारण नेपालले पनि पर्यटन विकासका लागी प्रचुर सम्भावना बोकेको छ । पर्यटनमैत्री विकासका पूर्वाधारहरूको निर्माण गरी मुलुकमा सबै मौसममा पर्यटकीय क्रियाकलापहरू सञ्चालनका निम्ति आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सकेको खण्डमा नेपालको समृद्धिको नारा साकार हुनेमा दुई मत छैन ।

प्रश्न नं ५. नेपालको कृषि प्रणालीमा देखिएका समस्याहरू औँल्याउँदै उक्त समस्या समाधानका उपहायहरु समेत प्रस्तुत गर्नुहोस् ।
उत्तर
➥ कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु नै कृषि हो । यसलाई नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा लिइन्छ ।
कृषि प्रणालीमा देखिएका समस्याहरू
➯ नेपाल कृषि प्रधान मुलुक भएर पनि यहाँ कृषि क्षेत्रबाट हुनुपर्ने जति योगदान हुन सकिरहेको छैन यस्तो हुनको कारण यस क्षेत्रमा समस्याहरूको पहिचान र समाधानमा कमी हुनु हो । जुन समस्याहरू यस प्रकार छनः
♦ युवावर्ग तथा आर्थिक रूपमा सक्रिय जनशक्ति दिनानुदिन विदेशिने क्रम बढ्दै जाँदा कृर्षि क्षेत्रमा बढ्दै गएको श्रम शक्तिको अभाव ,
♦ उर्वर भूमिको गैरकृर्षि प्रयोजनमा बढ्दो उपयोग, कृर्षि भूमिको खण्डीकरण बढ्दै जानु ,
♦ जलवायु परिवर्तनको नकारात्मक प्रभावले कृर्षि क्षेत्रमा आशालाग्दो उपलब्धि हासिल गर्न चुनौतिपुर्ण रहेको छ,
♦ उत्पादनको उपयुक्त बजार तथा मूल्य पाउन नसक्नु,
♦ उत्पादनमा विविधीकरण र प्रतिस्पर्धी बजारमुखी हुन नसक्नु,
♦ जीवनाशक विषादी र भेटेनरी औषधिको सुरक्षित प्रयोगबारे पर्याप्त जानकारी नहुनु,
♦ सिँचाइ सुविधा उपलब्ध हुन नसक्नु,मनसुनमा आधारित हुनु/आकासे कृर्षिको भर,
♦ कृर्षि ऋण तथा कृर्षि तथा पशुपालनमा बिमा व्यवस्था कम हुनु भएको पनि प्रभावकारी हुन नसक्नु ।

कृषि प्रणालीमा देखिएका समस्या समाधानका उपायहरू
नेपालमा सबैभन्दा बढी रोजगारी सृजना गराउने क्षेत्र नै कृर्षि हो । कुल जनसङ्ख्याको करिब दुई तिहाई जनसङ्ख्या कृषि क्षेत्रमा छन् । त्यसैले कृषि क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न सकिएको खण्डमा नेपाल खाद्यान्न मा आत्मनिर्भर हुन सक्छ जसका लागी निम्न उपायहरू अवलम्न गर्न सकिन्छ
♦ कृषिलाई सम्मानजनक र आकर्षण पेसाको रूपमा विकास गरी युवाजनशक्तिलाइ व्यवशायिक कृर्षितर्फ आकर्षण गर्ने,
♦ जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्न अनुसन्धानमा आधारित वातावरणमैत्री कृषि प्रविधिहरूको विकास एवं विस्तार गर्ने,
♦ कृषिको व्यवसायीकरण,विविधीकरण,गुणस्तर प्रवर्द्धन र ग्रामीण पूर्वाधारको विकास गर्ने,
♦गुणस्तर परीक्षण, प्रशोधन ,अनुगमन र नियमनलाई स्थानीय स्तरका जनताको पहुँच हुने गरी प्रभावकारी बनाउँदै बजारीकरणलाई प्रवर्द्धन गर्ने,
♦ कृषि तथा पशुपंक्षिजन्य उत्पादनको लागत कम गरी प्रतिस्पर्धात्मक क्षमता बढाउने,
♦ उत्पादनलाई अन्तर्राष्टीय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तर निर्धारण गर्ने,
♦ जीवनाशक विषादी र भेटेनरी औषधिको सुरक्षित प्रयोगबारे जनचेतना प्रदान गर्ने,
♦ कृषि भूमिको खण्डीकरणमा लाई निरुत्साहित गर्ने ।

निष्कर्ष : वास्तवमा नेपालमा कृषकहरूले आफ्नो लागतअनुसारको मूल्य पनि नपाउने हुनाले व्यवशायिकता तर्फ उन्मुख हुन नसकेको जस्तो आभास हुन्छ । तसर्थ कृषकहरूलाई केन्द्रबिन्दु बनाइ देशको आर्थिक नीतिको तर्जुमा गरियो भने कृर्षकहरुलाइ आत्मनिर्भर,व्यवसायमूलक र निर्यातमूलक बनाई दिगो आर्थिक विकासमा टेवा पुग्न सकिन्छ ।

प्रश्न नं ६. जलवायु परिवर्तनका कारण र यसबाट सिर्जित हुने समस्याबारे लेख्नुहोस् ।
उत्तर

“यथास्थितिमा रहेको पृथ्वीको हावापानीमा हुने अस्वाभाविक”

♦ समयको अन्तरालमा पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र बर्षातमा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औषत मौसममा हुने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।

जलवायु परिवर्तनका कारणहरू
♦ जलवायु परिवर्तन हुनका पछाडि जिम्मेवार पक्षको रूपमा मानव समुदायले पारिस्थितिक प्रणालीमा ल्याइदिएको असन्तुलन, तीव्र रूपमा भएको औधोगिकरण, अव्यवस्थित सहरीकरण, जैविक इन्धनको अत्यधिक खपत र दुरुपयोग,तीव्र रूपमा भएको बन फडानी, कृषिमा भएको आधुनिकीकरण, मानवीय क्रियाकलापकै कारण कार्वनडाइअक्साइड जस्ता ग्याँसहरूको उत्सर्जनलाई लिनुपर्दछ । जलवायु परिवर्तन एक प्राकृतिक प्रक्रिया हो तापनि मानवीय क्रियाकलापहरू प्रमुख कारण बनेका छन् । जो निम्नानुसार छन् :
♦ तीव्र औधोगिकरण,
♦ वनजंगल विनाश (वनजंगलले वायुमण्डलमा रहेको कार्वडाइअक्साइडलाई सोसेर हरितगृह ग्याँसको सञ्चित कम गर्न मद्दत गर्दछ),
♦ विश्वमा देखिएको आणविक परीक्षण र प्रयोग,रासायनिक हातहतियार तथा विस्फोटक पदार्थको प्रयोगबाट समेत जलवायु परिवर्तनलाई मद्दत पुर्याएको,
♦ बढ्दो सहरीकरण, बढ्दो यातायातका साधनहरूले खनिज इन्धनको व्यापक प्रयोग,
♦ वातावरण प्रदूषण,
♦ हरित गृह ग्याँस (कार्वडाइअक्साइड, मिथुन, नाइट्रस अक्साइड) को अत्यधिक उत्सर्जन,
♦ विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) ।
पृथ्वीको जीवनचक्रलाई निरन्तरता दिन निश्चित मात्रामा हरितगृह ग्याँस हुनै पर्दछ । जब यसको मात्रा उल्लेख्य हुन थाल्दछ त्यस अवस्थामा जलवायु नराम्री परिवर्तन हुन पुग्दछ ।

जलवायु परिवर्तनबाट सिर्जना हुने समस्याहरू
जलवायु परिवर्तनका कारण नेपालमा प्रत्येक वर्ष ०.०५६० से तापक्रम वृद्धि भइरहेको, हिमाली तालहरूको आकार बढ्दै गइरहेको (जस्तै : च्छो रोल्पा हिमताल सन् १९५९ को नक्सामा ०.२३ वर्ग कि.मि आकार थियो भने सन् १९९७ मा १.६५ वर्ग किमि पुगेको छ) जलवायु परिवर्तका कारण त्यस्ता हिमताल फट्ने खतरा हुन्छ । अतः जलवायुबाट सिर्जित समस्यालाई बुँदागत रूपमा देहायबमोजिम प्रस्तुत गर्न सकिन्छ :
♦ मरुभुमीकरण,
♦ हिँउ पग्लेर हिमाली डाँडाहरू नटाँगिने,
♦ हिमताल विस्फोट हुने,
♦ समुद्रतटिय एवं टापु राष्ट्र डुबानमा पर्ने,
♦ पृथ्वीको तापक्रम बढ्ने –हालके दरमा कार्बन ग्याँसको उत्सर्जन कायम हने हो भने यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम ४ देखि ९ डिग्री सम्म बढ्ने अनुमान छ,
♦ पृथ्वीको सौन्दर्य बिग्रने,
♦ अनावृष्टि अनावृष्टि जस्ता प्राकृतिक प्रकोप,
♦ जैविक विविधतामा नकारात्मक असर,
♦ खाद्यान्न उत्पादनमा ह्रास,
♦ रोगव्याधि बढ्ने ।
निष्कर्ष : जलवायु परिवर्तनका कारण नेपालमा पानी पर्ने दिनहरूको सङ्ख्या घटी रहेको छ, हिमाली क्षेत्रहरूमा लामखुट्टे देखा परेको छ, कृषि पशुपालनमा नयाँ रोग र किराहरूले आक्रमण गर्न थालेका छन्, केही वर्ष पहिले भन्दा बढी गर्मी महसुस भएको छ, मानव स्वास्थ्यमा असर परेको छ,पानीको सहत घट्ने क्रममा रहेको, बाढी पहिरो तथा डढेलोमा तीव्रता आदी जस्ता समस्याहरूले मानिसको जीवनयापन कष्टपुर्ण भइरहेको अवस्थामा सामाजिक आर्थिक विकासलाई जलवायु मैत्री बनाउँदै नीति, कानुन, योजना तथा विकास कार्यक्रमहरूमा जलवायु परिवर्तनको पक्षलाई एकीकृत गरी कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता हो ।

प्रश्न नं ७ .सहकारीको परिचय दिँदै आर्थिक विकासका लागि यसको भूमिका बारे प्रस्ट्याउनुहोस् ।
उत्तर

“अर्थतन्त्रको आधारस्तम्भ र (कोलाबोरेसन) collaboration को एक नमुना”

♦ स्थानीय ज्ञान, सिप, पुँजी र प्रविधिको प्रयोग गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक आश्यकता तथा आकाङ्क्षा परिपूर्तिका लागि सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढङ्गबाट नियन्त्रित स्वायत्त उद्यम नै सहकारी हो ।
♦ सहकारीमा सहकार्य,सहमति र सहअस्तित्वको मान्यता बमोजिम इच फर अल र अल फर इच को सिद्धान्तका आधारमा अघि बढी समाज र राष्ट्रको विकास गर्ने अभिष्ट रहन्छ ।

आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका
सहकारी व्यवसायलाई सार्वजनिक र निजी व्यवसाय बिच एउटा सन्तुलनका रूपमा लिइन्छ ।आर्थिक विकासमा सहकारीको भुमिकामलाई देहायवमोजमि उल्लेख गर्न सकिन्छ :
♦ बचत गर्ने बानीको विकास गराई छरिएको पुँजीलाई एकत्रीत गर्ने,
♦ स– साना पुँजीहरूको सङ्कलन तथा परिचालन गरी अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने,
♦ ग्रामीण क्षेत्रसम्म बैङ्किङ सेवा विकास तथा विस्तार गर्ने,
♦ स्थानीय स्तरमा रोजगारीका अवसरहरूको सिर्जना गर्ने,
♦ सरकार र निजी क्षेत्रसँग हातेमालो गरी विकास निर्माण र सेवा प्रवाहमा ठोस योगदान पुर्‍याउने,
♦ सामूहिक पद्दति र भातृत्व भाव मार्फत स्वच्छ सामाजिक जीवनको स्थापना र विकास गर्ने,
♦ ग्रामीण क्षेत्रमा रेमिट्यान्सको सही सदुपयोग गर्ने,
♦ घरेलु तथा साना उद्योगहरूको स्थापना गरी मुलुकको औधोगिक विकासमा टेवा पुर्‍याउने,
♦ सामाजिक उद्यमशीलताको विकास तथा प्रवर्द्धन गर्ने ।

निष्कर्ष : यसरी सरकार पुग्न नसकेको ठाउँमा र निजी क्षेत्रले मुनाफा नदेखेर नगएको ठाउँमा सहकारीहरू गठन भई ग्रामीण क्षेत्रमा छरिएर रहेको पुँजी, प्रविधि,ज्ञान,सीप आदिलाई एकत्रित गरी उत्पादनमूलक काममा लगाई जनताको आर्थिक, सामाजिक योगदान गर्नमा सहकारितामूलक शासनले महत्त्वपूर्ण भूमिका रहेको छ । सहकारिताको माध्यमबाट शान्तिपूर्ण ढङ्गले समाजलाई उन्नत र विकाससिल बनाउन सकिन्छ .समाजका हरेक सदस्यलाई असल र योग्य नागरिक बनाइ समाजलाई नै परिवर्तन गर्ने सहकारिताको प्रमुख लक्ष्य हो ।

सन्दर्भ सामाग्रीहरू
विकासका समसामयिक आयामहरू (श्यामप्रसाद मैनाली मुकुन्द प्रसाद पौड्याल), समसामयिक सन्दर्भहरू (रामप्रसाद ज्ञवाली), समसायकि मामिलाहरू (पुष्पराज शाही/टंक प्र.पाण्ड्ये/गोपि चन्द्रपौडेल, रामप्रसाद बस्याल, अम्बिका प्रसाद फुयाँल रहुमनाथ पराजुली आदी),शाखा अधिकृति दिग्दर्शन (हेमराज तामाङ) प्रशासन डट कम, निजामती सेवा प्रत्रिका, गोरखापत्र सम्पादकीय लगायत अन्य लेखहरू रचनाहरू ।

Tags :
प्रतिक्रिया दिनुहोस