रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश


३१ श्रावण २०७६, शुक्रबार


चितवन । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।

शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता लामिछाने बिहीबार साँझ काठमााडौंबाट पक्राउ परेका हुन् । प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको थियो ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठामा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो।

पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन्। उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन्। लामिछानेका कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको उल्लेख पुडासैनीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस