प्रमुख आयुक्तलाई २०० वर्ष बाँच्नू भन्दै निलम्बित कर्मचारीद्वारा आत्महत्या « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रमुख आयुक्तलाई २०० वर्ष बाँच्नू भन्दै निलम्बित कर्मचारीद्वारा आत्महत्या


२७ श्रावण २०७६, सोमबार


अख्तियार

काठमाडौँ । भ्रष्टाचार मुद्दा लागि निलम्बनमा परेका पूर्वकर्मचारीले आत्महत्या गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेख्दै आइतबार आत्महत्या गरेका हुन् ।

मालपोत कार्यालय कलकीमा कार्यरत हुँदा भ्रष्टाचार मुद्दा लागेपछि आचार्य निलम्बनमा परेका थिए ।

सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर देशको ठुलो भ्रष्टाचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन्– ”अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाण्डौंले सहयोग गर्नू”

प्रहरीले फेला पारेको मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो स्वीकार गरेको थिएँ ।’

उनले लेखेका छन् ‘ममीले छोराहरूसँग र सासूसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म बिदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जङ्गलमा खोज्नु।’

नेपाल निजामती कर्मचारी सङ्गठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘सङ्गठनका साथीहरूले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू भनी आग्रह गरेका छन्।

उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जङ्गलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस